स्वयंसेवक कार्यक्रमलाई सुदृढ बनाउन कोइकाद्वारा साझेदार संस्थासँग परामर्श कार्यशाला आयोजना

अनलाइनसमय |
२४ जेठ २०८३
स्वयंसेवक कार्यक्रमलाई सुदृढ बनाउन कोइकाद्वारा साझेदार संस्थासँग परामर्श कार्यशाला आयोजना

काठमाडौं, २४ जेठ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले जेठ २२ गते ललितपुरमा आफ्ना स्वयंसेवक साझेदार संस्थाहरूका लागि परामर्श कार्यशाला आयोजना गरेको छ ।

नेपालमा सञ्चालित कोइकाको स्वयंसेवक कार्यक्रमको समीक्षा तथा मूल्याङ्कन गर्नुका साथै स्वयंसेवकसम्बन्धी संस्थाहरूबीच उत्कृष्ट अभ्यास र सिर्जनशील विचार आदानप्रदान गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु यस कार्यशालाको उद्देश्य रहेको कोइकाले जनाएको छ ।

कार्यशालाले कोरियाली स्वयम्सेवकहरू (केओभी) का लागि अझ राम्रो कार्यवातावरण बनाउन र भविष्यमा यस कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन एउटा बलियो मञ्च प्रदान गरेको छ । कार्यक्रममा स्वयम्सेवक साझेदार संस्थाका प्रतिनिधिहरू, विभिन्न मन्त्रालय तथा विभागका अधिकारीहरू, कोइकाका कर्मचारी र स्वयम्सेवकहरू गरी करिब ४७ जनाको सहभागिता थियो ।

कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर (देशीय निर्देशक) मुहेन कोङले स्वयम्सेवक लिने नेपाली संस्थाहरूको निरन्तर सहयोगको प्रशंसा गर्दै कोइका स्वयम्सेवक कार्यक्रमलाई प्रभावकारी बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले यस कार्यक्रमको उद्देश्य ज्ञान, सीप र विज्ञता बाँडेर नेपालको सामाजिक तथा आर्थिक विकासमा सहयोग गर्नुका साथै दक्षिण कोरिया र नेपालबीचको मित्रता र आपसी समझदारीलाई अझ बलियो बनाउनु रहेको उल्लेख गरे ।

त्यसैगरी अर्थ मन्त्रालयका उपसचिव अर्जुन ढकालले सन् १९९१ देखि कोरिया ओभरसिज भोलिन्टियर्सले नेपालको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) जस्ता क्षेत्रमा स्वयंसेवकहरूले ज्ञान, सीप र विशेषज्ञता हस्तान्तरण गर्नुका साथै परिश्रम, समयपालन र समर्पणजस्ता मूल्यहरू प्रवद्र्धन गरेको उल्लेख गरे ।

उनले नेपाल र कोरिया गणतन्त्रबीचको दीर्घकालीन विकास साझेदारीप्रति कृतज्ञता व्यक्त गर्दै मानव संसाधन विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा कोइकाले निरन्तर सहयोग गरिरहेको बताए । सहायता प्राप्त राष्ट्रबाट प्रमुख दाता राष्ट्रमा रूपान्तरण भएको कोरियाको विकास यात्राबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने उनको भनाइ थियो । उनले कार्यशालाले सम्बन्धित पक्षहरूबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै कोइका स्वयंसेवक कार्यक्रमको प्रभावकारिता बढाउन र साझा विकास लक्ष्य हासिल गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले नेपालको विकासमा कोइकाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै विकास सहकार्यका कार्यक्रमहरूमा वातावरणीय दिगोपनालाई समावेश गर्ने प्रयासको सराहना गरे । उनले नेपालमा कार्यरत कोरिया ओभरसिज भोलिन्टियर्सको योगदानलाई पनि उच्च मूल्याङ्कन गरे ।

कार्यशालामा कोइका नेपालले आफ्ना विभिन्न विकास सहकार्य कार्यक्रम तथा केओभी कार्यक्रमबारे जानकारी प्रस्तुत गरेको थियो । कार्यक्रममा केओभी कार्यक्रम, सन्तुष्टि सर्वेक्षण, कोइकाको इमान्दारिता नीति तथा कोइका नेपालद्वारा कार्यान्वयन गरिएका हरित विकास सहायता (ग्रीन ओडीए) कार्यक्रमबारे प्रस्तुति दिइएको थियो । साथै, केओभी कार्यक्रमका योगदान र उपलब्धि झल्काउने तस्बिर प्रदर्शनी पनि आयोजना गरिएको थियो ।

यसै अवसरमा दुई जना कोइका स्वयंसेवकले आफ्नो कार्य अनुभव र भावी योजना साझा गरेका थिए । कास्कीस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) स्वयंसेवकका रूपमा कार्यरत मिह्युन सुङले प्रारम्भिक बाल शिक्षा सुदृढीकरणमा गरेका योगदानबारे जानकारी दिइन् । त्यस्तै, ललितपुरको गोदावरी नगरपालिकामा पर्यटन स्वयंसेवकका रूपमा कार्यरत सुङचुल काङले विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा जेजुको विकास अनुभव प्रस्तुत गर्दै नेपाल, विशेषगरी गोदावरी नगरपालिकामा दिगो पर्यटन विकासका लागि सुझाव दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार सेवा, कास्कीका प्रतिनिधिले कोइकाको केओभी कार्यक्रममार्फत प्राप्त सहयोगबाट सञ्चालित परियोजनाबारे प्रस्तुति दिएका थिए । उनले उपलब्ध गराइएका उपकरणहरूको महत्व र त्यसले रक्तदान गतिविधिमा ल्याएको सकारात्मक परिवर्तनबारे जानकारी दिँदै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे । साथै, अन्तर्राष्ट्रिय स्वयंसेवी सहकार्यले स्थानीय संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

त्यसैगरी, विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार बुढाथोकीले कोइकासँगको दीर्घकालीन सहकार्यको स्मरण गर्दै कोरियाली स्वयंसेवकहरूको महत्वपूर्ण योगदानको चर्चा गरे । उनले हालसम्म २० भन्दा बढी स्वयंसेवकले क्याम्पसमा सेवा प्रदान गर्दै कोरियाली भाषा शिक्षण तथा अन्य विकासमूलक गतिविधिमा सहयोग गरेको बताए । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको कोरियाली भाषा शिक्षा पाठ्यक्रम स्वीकृत भइसकेकाले आगामी दिनमा थप स्वयंसेवक परिचालन हुने अपेक्षा व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस