काठमाडौं, २२ जेठ । चिनियाँ राष्ट्रपति सी चीनफिङ करिब सात वर्षपछि पहिलोपटक आफ्नो पुरानो सहयोगी देश उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनको निमन्त्रणामा उनी जुन ८ र ९ तारिखमा त्यहाँ जान लागेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सीले यसअघि सन् २०१९ मा उत्तर कोरियाको भ्रमण गरेका थिए ।
केही साताअघि मात्र सी चीनफिङले बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगका भेटपछि यो भ्रमण हुन लागेको हो ।
चीन उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक र राजनीतिक साझेदार हो । आणविक हतियार कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगिरहेको उत्तर कोरियाका लागि चीन प्रमुख सहारा बनेको छ ।
दुई देशबीच करिब १,४०० किलोमिटर लामो सीमा जोडिएको छ । उनीहरूबीच एउटा विशेष रक्षा सन्धि पनि छ, जसको यस वर्ष ६५औँ वार्षिकोत्सव परेको छ । यो सन्धिअनुसार कुनै एक देशमाथि आक्रमण भएमा अर्को देशले सहयोग गर्नुपर्ने हुन्छ ।
उत्तर कोरियाली नेता किम जोङ उनका लागि यो भ्रमण प्रचारका दृष्टिले निकै महत्वपूर्ण छ । किमले चीनसँग स्थलमार्गबाट हुने व्यापार बढाउन र आफ्ना नयाँ रिसोर्टहरूमा चिनियाँ पर्यटक भित्र्याउन चाहेका छन् ।
पछिल्लो समय किमले दक्षिण कोरियासँगको सम्बन्ध पूर्ण रूपमा तोडेका छन् र उसलाई “शत्रु“ घोषणा गरेका छन् । अमेरिकासँग नझुकीकन पनि आफूले देश चलाउन सकेको सन्देश किमले दिन खोजिरहेका छन् ।
दक्षिण कोरियाले चिनियाँ राष्ट्रपति सी चीनफिङले यस भ्रमणका क्रममा मध्यस्थकर्ताको भूमिका खेलून् भन्ने आशा राखेको छ । दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले यो भेटवार्तामा अमेरिका र उत्तर कोरियाबीच पुनः वार्ता सुरु गर्ने विषय उठ्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
यद्यपि, उत्तर कोरियाले आफ्नो आणविक हतियार बनाउने काम नरोक्ने स्पष्ट संकेत दिएको छ । नेता किम जोङ उनले हालै मात्र उत्तर कोरियाको आणविक सामग्री उत्पादन गर्ने क्षमता पछिल्लो पाँच वर्षमा दोब्बरभन्दा बढी भएको दाबी गरेका छन् ।