सम्पर्कविहीन निजामती कर्मचारी खोज्दै सरकार, हाजिर हुन ३ दिनको अल्टिमेटम

अनलाइनसमय |
२२ जेठ २०८३
सम्पर्कविहीन निजामती कर्मचारी खोज्दै सरकार, हाजिर हुन ३ दिनको अल्टिमेटम

काठमाडौं, २२ जेठ । सरकारले अध्ययन बिदा र असाधारण बिदा सकिएपछि पनि लामो समयसम्म कार्यालयको सम्पर्कमा नआएका र बेपत्ता भएका निजामती कर्मचारीहरूको खोजी सुरु गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गर्दै त्यस्ता सम्पर्कविहीन कर्मचारीहरूलाई ३ दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए÷नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन अनुरोध गरिएको छ ।

मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस