दश महिनामा ११.६० अर्बको बीमा पोलिसी सरेण्डर

अनलाइनसमय |
१८ जेठ २०८३
दश महिनामा ११.६० अर्बको बीमा पोलिसी सरेण्डर

काठमाडौं, १८ जेठ । गत आर्थिक वर्ष (आव) २०८१/८२ को तुलनामा चालू आवमा बीमा पोलिसी सरेण्डर गर्नेको सङ्ख्या र रकम दुबै घटेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आव २०८२÷८३ को दश महिनामा ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ४० प्रतिशतले कम हो । गत आवको वैशाखसम्ममा यस्तो रकम १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ थियो ।

यस्तै, पछिल्लो एक वर्ष अवधिमा बीमा पोलिसी सरेण्डर गर्नेको सङ्ख्या पनि घटेको छ । गत आवको वैशाखसम्ममा ८८ हजार ६३५ बीमितले बीमा पोलिसी सरेण्डर गरेकोमा चालू आवको यसै अवधिमा यस्तो सङ्ख्या ७६ हजार ४७७ रहेको छ । अर्थात् सरेण्डरको सङ्ख्या १३ दशमलव ७२ प्रतिशतले घटेको छ ।

बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्छ, तर केही कारणवश यदि प्रिमियम तिर्न छोडेर रकम फिर्ता लिन चाहन्छ भने त्यसलाई सरेण्डर मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस