रसियाली ड्रोन रोमानियाको अपार्टमेन्टमा ठोक्कियो : २ घाइते, ७० जनाको उद्धार

अनलाइनसमय |
१५ जेठ २०८३
रसियाली ड्रोन रोमानियाको अपार्टमेन्टमा ठोक्कियो : २ घाइते, ७० जनाको उद्धार

काठमाडौं, १५ जेठ । रुसले प्रहार गरेको ड्रोन रोमानियाको एउटा अपार्टमेन्ट भवनमा ठोक्किएको छ । उक्त घटनामा आगलागी हुनुका साथै दुई जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनको सीमाना नजिक रुसले आक्रमण गरिरहेका बेला ड्रोन पूर्वी सहर गलातीमा खसेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

रोमानियाको आपतकालीन अवस्था निरीक्षण महानिर्देशनालयले ड्रोनमा रहेको सम्पूर्ण विस्फोटक सामग्री विस्फोट हुँदा आवासीय भवनको १०औँ तलामा आगलागी भएको जनाएको छ ।

युक्रेनसँग चार वर्षदेखि जारी युद्धका क्रममा रुसी ड्रोनहरू यसअघि पनि पटक–पटक नेटो सदस्य राष्ट्र रोमानियाको सीमाभित्र प्रवेश गरेका थिए, तर रोमानियाका नागरिक घाइते भएको यो पहिलो घटना हो । यस घटनाबारे रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आपतकालीन सेवाका अनुसार दुई जनाले सामान्य चोटपटकका कारण उपचार गराएका छन् भने करिब ७० जनालाई भवनबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो । पछि आगलागी नियन्त्रणमा लिइएको थियो ।

नेटोका एक प्रवक्ताले एक्समार्फत जारी गरेको वक्तव्यमा ‘रुसको लापरवाही’ को निन्दा गर्दै सैन्य गठबन्धनले ‘ड्रोनसहित सबै प्रकारका खतराविरुद्ध आफ्नो सुरक्षा अझ सुदृढ बनाइरहने’ बताएका छन् ।

ड्रोनहरू रोमानियाको हवाई क्षेत्रमा देखिएपछि दुईवटा एफ–१६ लडाकु विमान परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ । ‘ती ड्रोनमध्ये एउटा रोमानियाको हवाई क्षेत्रमा प्रवेश ग¥यो, राडारमार्फत गलाती सहरको दक्षिणी भागसम्म ट्र्याक गरियो र अन्ततः एउटा अपार्टमेन्ट भवनको छतमा खस्यो, जसको प्रभावले आगलागी भयो,’ मन्त्रालयले भनेको छ ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार युक्रेन युद्ध सुरु भएयता रोमानियाको भूभागमा ४७ पटक ड्रोनका भग्नावशेष फेला परिसकेका छन्, जसमध्ये १२ वटा घटना यस वर्ष मात्रै भएका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेका थिए ।

यसैबीच, युक्रेनभर रातभर हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । दक्षिणी युक्रेनका अधिकारीहरूले ओडेसा क्षेत्रको इज्माइल बन्दरगाह शुक्रबार बिहान ड्रोन आक्रमणमा परेको बताएका छन् ।

उता, युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रमा रहेको रुस–नियन्त्रित भागमा बिहीबार युक्रेनी ड्रोन आक्रमणमा तीन जना विद्युत् सेवा कर्मचारी मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस