औद्योगिक क्षेत्रतर्फ चालू आवमा करिब ५० खर्बको लगानी स्वीकृत

अनलाइनसमय |
१३ जेठ २०८३
औद्योगिक क्षेत्रतर्फ चालू आवमा करिब ५० खर्बको लगानी स्वीकृत

काठमाडौं, १३ जेठ । चालू आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक क्षेत्रतर्फ स्वदेशी तथा विदेशी लगानी उद्योगका लागि ४९ खर्ब ५२ अर्ब ६ करोड बराबरको कुल लगानीको स्वीकृत भएको छ । कुल स्वीकृत लगानीमध्ये उद्योग विभागबाट ३३ खर्ब ३७ अर्ब ८० करोड (६७.४ प्रतिशत) र लगानी बोर्ड नेपालबाट १६ खर्ब १४ अर्ब २६ करोड (३२.६ प्रतिशत) लगानी स्वीकृत भएको हो ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आवको आर्थिक सर्वेक्षणका अनुसार चालू आवको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँ र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यससँगै २०८२ फागुनसम्म कुल स्वीकृत लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

उद्योग विभागमा दर्ता भएका उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । २०८१ फागुनसम्म ९ हजार ९६३ उद्योग दर्ता भएकोमा २०८२ फागुनसम्म यस्तो सङ्ख्या ११.८ प्रतिशतले वृद्धि भई ११ हजार १४० पुगेको छ । जसमध्ये ठूला १३.९ प्रतिशत, मझौला २०.० प्रतिशत र साना उद्योग ६६.१ प्रतिशत रहेको छ ।

२०८२ असारसम्म उद्योग विभागमा दर्ता भएका उद्योगको स्वीकृत लगानी ३३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ रहेकोमा चालू आवको फागुनसम्म ३ खर्ब ८९ अर्ब ७४ करोड थप लगानी स्वीकृत भई २०८२ फागुनसम्म यस्तो लगानी रु.३७ खर्ब २७ अर्ब ५४ करोड पुगेको छ । जसमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८२.२ प्रतिशत, ९.४ प्रतिशत र ८.४ प्रतिशत रहेको छ । दर्ता भएका उद्योगको सञ्चालनबाट ७ लाख ८५ हजार ५२० जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ ।

चालू आवको फागुन मसान्तसम्म उद्योग विभागमा ९२१ थप उद्योग दर्ता भएका छन्। यो उद्योग सञ्चालनबाट ३९ हजार ५ सय ४६ रोजगार सिर्जना हुने अनुमान छ । गत आवको सोही अवधिमा ४३८ उद्योगका्े १ खर्ब ७१ अर्ब ३६ करोड लगानी स्वीकृत भई २३ हजार ६४ प्रत्यक्ष रोजगार सिर्जन हुने अनुमान रहेको थियो ।

विदेशी लगानी
हाल स्वचालित र अप्रुभल गरी दुई रुटबाट विदेशी लगानी स्वीकृत हुने गरेको छ । चालू आवको फागुन मसान्तसम्म उद्योग विभागमा ९६८ अटोमेटिक र ६ हजार ९८३ अप्रुभल रुटबाट गरी कुल ७ हजार ९५१ प्रियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको सिवदेशी लगानी स्वीकृत भएको छ । यो उद्योगको सञ्चालनबाट ३ लाख ६२ हजार ५४५ रोजगार सिर्जना हुने अनुमान छ ।

चालू आवको फागुन मसान्तसम्म उद्योग विभागमा अटोमेटिक रुटबाट ३७७ र अप्रुभल रुटबाट १७७ गरी कूल ५५४ परियोजनामा ४० अर्ब ७० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । गत आवमा सोही अवद्यिमा ४२७ उद्योगको ४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस