कार्बन व्यापारबाट नेपालले पायो २५ अर्ब १२ करोड रुपैयाँ

अनलाइनसमय |
१३ जेठ २०८३
कार्बन व्यापारबाट नेपालले पायो २५ अर्ब १२ करोड रुपैयाँ

काठमाडौं, १३ जेठ । नेपालले जलवायु परिवर्तनद्वारा सिर्जित समस्याहरू समाधानका लागि विभिन्न अन्तर्राष्ट्रिय जलवायु कोषहरूबाट ठुलो मात्रामा आर्थिक सहयोग प्राप्त गरेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म विभिन्न १३ वटा आयोजनामार्फत नेपालले २५ अर्ब १२ करोड ५३ लाख (१६३.७९ मिलियन) अमेरिकी डलर अनुदान तथा सहयोग प्राप्त गरेको हो ।

यसैगरी, जलवायु वित्त व्यवस्थापन र कार्बन उत्सर्जन कटौतीका क्षेत्रमा प्राप्त उपलब्धिहरूलाई सर्वेक्षणमा मुख्य रूपमा समेटिएको छ । चालू आर्थिक वर्षको फागुनसम्म मात्रै नेपालले थप १८ मिलियन अमेरिकी डलर बराबरको तीनवटा नयाँ जलवायु परियोजनाका लागि सम्झौता गरिसकेको छ ।

तराईमा कार्बन उत्सर्जन कटौतीः वन विकास कोषमा १४ लाख डलर
नेपालले वन फँडानी र वन क्षयीकरण न्यूनीकरण गरी कार्बन उत्सर्जन घटाउने कार्यक्रमअन्तर्गत तराई भू–परिधि क्षेत्रमा ठुलो सफलता हात पारेको छ । उक्त कार्यक्रमअन्तर्गत करिब १८ लाख ८० हजार टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सफल भएबापत नेपालले पहिलो पटक वन विकास कोषमा १४ लाख अमेरिकी डलर प्राप्त गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

वैकल्पिक ऊर्जा र कार्बन व्यापारबाट करोडौँ आम्दानी
नवीनकरणीय ऊर्जा प्रवद्र्धनमार्फत नेपालले अन्तर्राष्ट्रिय कार्बन बजारबाट समेत उल्लेखनीय आम्दानी गर्न सफल भएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत २ लाख १ हजार ९ सय २२ मेट्रिक टन कार्बन न्यूनीकरण गरेको छ । सोबापत नेपालले ६६ लाख ५५ हजार ५ सय २२ युरो बराबरको आम्दानी गरेको छ ।

सीडीएममार्फत ५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी
विश्वव्यापी स्वच्छ विकास संयन्त्र कार्यक्रमअन्तर्गत नेपालले हालसम्म ६६.८७ लाख मेट्रिक टन कार्बनडाइअक्साइड न्यूनीकरण गरिसकेको छ । यसरी ठुलो मात्रामा हरितगृह ग्यास उत्सर्जन घटाएबापत नेपालले हालसम्म करिब ३.६ करोड अमेरिकी डलर (नेपाली रुपैयाँ ५.०४ अर्ब) आम्दानी गर्न सफल भएको सरकारको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस