काठमाडौं, १३ जेठ । सरकारले नेपाल बिमा प्राधिकरण अध्यक्ष पदका लागि योग्य उम्मेदवारको दरखास्त माग गरेको छ । प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।
समितिले इच्छुक तथा योग्य व्यक्तिले ७ दिन (जेठ १९ गते)भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्ने जनाएको छ ।
सूचनाअनुसार बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्नेछ ।
साथै उच्च नैतिक चरित्र भएको, बिमा ऐन, २०७९ बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायकका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ले तोकेबमोजिम ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भएको खण्डमा त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा भएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त नगरेको, सार्वजनिक निकायको कुनै ठेक्कापट्टा सम्झौता गरी काम गरिरहेको नभएको र मानिसक सन्तुलन ठीक भएको हुनु पर्नेछ ।
