काठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन आग्रह

अनलाइनसमय |
१२ जेठ २०८३
काठमाडौंमा देखियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १२ जेठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नगरपालिकाले मंगलबार सूचना जारी गर्दै वडा नम्बर २, ३ र ४ मा बर्ड फ्लु रोग देखिएको जनाएको हो । संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाट, अण्डा, दाना लगायत रोग फैलाउन सक्ने अन्य सामग्री नष्ट गर्ने तथा सुरक्षित रूपमा डिस्पोज र निसंक्रमण गर्ने काम भइरहेको नगरपालिकाकाले जनाएको छ ।

नगरपालिकाले पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेश गर्न नदिन, प्रवेश गराउनै परे अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र अनुमति दिन निर्देशन दिएको छ। एउटै फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान पनि आग्रह गरिएको छ ।

त्यस्तै, फार्म तथा खोरको प्रवेशद्वारमा चुना वा अन्य निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न, खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन लगाउन तथा दैनिक रूपमा खोरभित्र र बाहिर निसंक्रमण गर्न भनिएको छ ।

नगरपालिकाले फार्म क्षेत्रमा कुकुर, बिरालो, मुसा लगायत अन्य जनावर प्रवेश गर्न नदिने व्यवस्था गर्न, मरेका पन्छीलाई सुरक्षित रूपमा गाड्न तथा फार्ममा काम गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । यदि कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस