काठमाडौं, ११ जेठ । अङ्गोलाको उत्तरी बेन्गो प्रान्तस्थित नाम्बुआन्गोङ्गो नगरपालिकामा अवैध सुन खानीमा पहिरो जाँदा कम्तीमा २८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रहरी प्रवक्ता गास्पार लुइस इनासियोका अनुसार मृत्यु हुनेमध्ये १३ जना एउटै परिवारका सदस्य रहेका छन् भने दुई जना अझै बेपत्ता छन् । उनले खानीमा पुरिएका हुनसक्ने अन्य व्यक्तिको खोजी गर्न उद्धार तथा खोज अभियान जारी रहेको बताए ।
बेन्गो केन्द्रीय अस्पतालका स्वास्थ्य सुपरभाइजर फ्रान्सिस्को रोड्रिग्सका अनुसार घाइते भएका कम्तीमा तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
‘उनीहरूको अवस्था स्थिर छ । एक्स–रे परीक्षण गरिएको छ र चिकित्सकीय निगरानीमा राखिएको छ,’ रोड्रिग्सले बताए ।
उनले तीनै जना बिरामी होसमा रहेको र खतरामुक्त भएकाले तत्काल अन्य अस्पतालमा सार्न आवश्यक नरहेको पनि बताए ।