काठमाडौं, १० जेठ । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार सैनिक कर्मचारी बोकेको रेललाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।
विस्फोट चमन गेट रेलवे स्टेशन नजिक क्वेटामा आइतबार भएको हो । उक्त विस्फोटमा कम्तीमा २० जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।
विस्फोटका कारण रेल आंशिक रूपमा क्षतिग्रस्त भएको छ भने आसपास पार्क गरिएका १० वटा सवारीसाधन पनि क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । विस्फोटको झट्काले नजिकका भवनहरूका झ्याल–ढोकाका सिसा फुटेको पनि जीईओ न्युजले रिपोर्ट गरेको छ ।
घटनापछि क्वेटाका सरकारी अस्पतालहरूमा आपतकाल घोषणा गरिएको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई तत्काल खटाइएर उपचार कार्य अघि बढाइएको छ ।
रेलवे अधिकारीहरूका अनुसार पेशावर जाँदै गरेको जाफर एक्सप्रेसलाई सावधानीस्वरूप क्वेटा रेलवे स्टेशनमै रोकिएको छ ।
गृह मन्त्रीका प्रवक्ता बाबर युसुफजाईले विस्फोटपछि सम्बन्धित सबै निकायहरूलाई उच्च सतर्कतामा राखिएको बताएका छन् ।
उनले सुरक्षा सुनिश्चित गर्न र उद्धार कार्यमा अवरोध नहोस् भनेर सर्वसाधारणलाई घटनास्थल नजिक नजान आग्रह गरेका छन् ।
बलुच लिबरेशन आर्मी (बीएलए) ले क्वेटामा सैनिक कर्मचारी बोकेको रेलमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । बीएलएका प्रवक्ता जियान्द बलुचले विज्ञप्तिमा भनेका छन्, ‘बलुच लिबरेशन आर्मीले क्वेटा क्यान्टबाट सैनिक कर्मचारी बोकेको रेललाई लक्षित गरी उच्च संगठित फिदायीन आक्रमण गरेको हो । यो कारबाहीको पूर्ण जिम्मेवारी हामी लिन्छौं ।’