काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता ‘लगभग टुंगिसकेको’ र यसको विवरण चाँडै सार्वजनिक गरिने दाबी गरेका छन् ।
उनले शनिबार उक्त सम्झौतामा होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय पनि समावेश हुने जानकारी दिएका छन् ।
यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै पछिल्लो एक सातामा अमेरिका र इरानका धारणा नजिकिँदै गएको बताएका थिए । तर उनले मुख्य विषयहरूमा सहमति भइहाल्ने निश्चित नभएको चेतावनी दिँदै अमेरिकाले “विरोधाभाषपूर्ण अभिव्यक्ति” दिएको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारलगायतका देशका नेतासँग ‘शान्तिसम्बन्धी समझदारी पत्र’ बारे निकै राम्रो कुराकानी भएको बताएका छन् ।
ट्रम्पले भने, ‘संयुक्त राज्य अमेरिका, इस्लामिक गणतन्त्र इरान र सूचीमा रहेका अन्य विभिन्न देशबीच अन्तिम टुंगो लाग्न बाँकी रहे पनि सम्झौता धेरै हदसम्म तय भइसकेको छ ।’ उनले थपे, ‘सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे अहिले छलफल भइरहेको छ र चाँडै घोषणा गरिनेछ ।’
ट्रम्पले शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग पनि फोन वार्ता भएको र त्यो ‘धेरै राम्रो’ भएको बताए । ट्रम्पले सम्झौताबारे थप विवरण दिएका छैनन्, तर कुनै पनि सहमतिले इरानलाई आणविक हतियार प्राप्त गर्न ‘पूर्ण रूपमा रोक्ने’ बताएका छन् ।
यसैगरी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘शान्तिका लागि असाधारण प्रयास’ गरेको भन्दै ट्रम्पलाई बधाई दिएका छन् । उनले फोन वार्ता ‘धेरै उपयोगी र फलदायी’ भएको पनि बताएका छन् । उनले एक्समा जारी वक्तव्यमा लेखेका छन्, ‘हामी छिट्टै अर्को चरणको वार्ताको आयोजना गर्ने आशा गर्छौं ।’ पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेल्दै शान्ति सम्झौता गराउन सहयोग गर्दै आएको छ ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण गरेका थिए, जसले मध्यपूर्वभर तनाव र संघर्ष बढाएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमा आक्रमण गरेको थियो ।
अप्रिलको सुरुआतमा इरानमा युद्धविराम सहमति भएको थियो । त्यसपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता भइरहेको छ ।