काठमाडौं, ८ जेठ । नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा नामअघि ‘डाक्टर (Dr.)’ लेख्ने तथा भ्रामक रूपमा चिकित्सकीय अभ्यास गर्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गरे तीन वर्ष जेल र तीन हजारसम्मको कारबाही गर्ने जनाएको छ ।
विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमा गैर चिकित्सक स्वास्थ्यकर्मीहरू एवं अन्य असम्बन्धित व्यक्तिहरू आफ्नो नामको अगाडि अनाधिकृत रूपमा डाक्टर उपाधि प्रयोग गरे चिकित्सा अभ्यास गर्ने र औषधिको प्रेस्क्रिप्सन परामर्श लेख्दा जनस्वास्थ्यमा प्रतिकूल असर परेको काउन्सलिले जनाएको छ ।
काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिस गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पारेको छ ।
काउन्सिलले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गैरकानुनी रूपमा प्रयोग गरिएको ‘Dr.’ उपाधि आधिकारिक कागजात, प्रेस्क्रिप्सन प्याड, साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिएको छ ।
‘काउन्सिलले विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘डाक्टर’ लेखिएको भरमा नेपालमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्न नपाइने छैन,’ सुचनामा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिलको ऐन २०२० मा आधुनिक चिकित्सा अभ्यास गर्ने चिकित्सा प्रणली अन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिने र नामको डाक्टर वा चिकित्सक पद प्रयोग गर्ने अधिकार काउन्सिलाई मात्रै हुनेछ ।’
साथै, म्याद सकिएपछि विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी गर्ने र ऐनविपरीत कार्य गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाउन सम्बन्धित निकायमा सिफारिस गरिने जनाएको छ । ऐनअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने काउन्सिलले जनाएको छ ।

