काठमाडौं, ८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अघिल्ला राष्ट्रपतिहरूले दशकौँदेखि क्युबामा हस्तक्षेप गर्ने विषयमा सोचिरहेको र अहिले त्यो काम आफूले गर्ने सम्भावना देखिएको बताएका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भने, “अघिल्ला राष्ट्रपतिहरूले ५०–६० वर्षदेखि यसबारे सोचिरहेका थिए । अहिले हेर्दा त्यो काम म नै गर्ने जस्तो देखिएको छ । म त्यसका लागि तयार छु ।” उनले क्युबाली मूलका अमेरिकीहरूले पनि फर्केर गएर सहयोग गर्न सक्ने बताए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अहिले अमेरिकाले क्युबासँग सम्झौता गरेर समस्या समाधान हुने सम्भावना कम रहेको बताएका छन् ।
हालै अमेरिकाले क्युबाली क्रान्तिका नेता राउल कास्त्रोविरुद्ध ३० वर्षअघि क्युबाली सेनाले दुईवटा विमान खसालेको घटनासँग सम्बन्धित आरोपपत्र दायर गरेको छ । साथै अमेरिकाले निमिट्ज क्यारियर स्ट्राइक समूहलाई क्यारिबियन क्षेत्रमा पठाएको छ, जसलाई क्युबामाथिको व्यापक दबाब अभियानको हिस्सा मानिएको छ ।
क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले बुधबार राउल कास्त्रोविरुद्धको अमेरिकी आरोपलाई कुनै कानुनी आधार नभएको राजनीतिक चाल बताएका छन् । उनले वासिङ्टनले “ब्रदर्स टु द रेस्क्यु नामक नार्को–आतंकवादी संगठनका साना विमान खसालिएको घटनाबारे झूट र भ्रम फैलाइरहेको” आरोप लगाए ।
उनले सोमबार क्युबामाथि कुनै पनि अमेरिकी सैन्य आक्रमण भए “अकल्पनीय परिणामसहितको रक्तपात” हुने चेतावनी दिएका छन् ।