काठमाडौं, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच इरानसँग इरान युद्धलाई कसरी अघि बढाउने भन्ने विषयमा तनावपूर्ण फोन वार्ता भएको छ ।
मंगलबार ट्रम्प र नेतान्याहूबीच इरानसँगको बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको विषयलाई लिएर निकै तनावपूर्ण फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
अमेरिकी अधिकारीका अनुसार ट्रम्पले आइतबार नेतान्याहूलाई अमेरिकाले इरानमाथि नयाँ लक्षित आक्रमण गर्न सक्ने बताएका थिए । उक्त सैन्य अभियानलाई “अपरेशन स्लेजह्यामर” नाम दिने तयारी थियो ।
तर त्यसको करिब २४ घण्टापछि ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सजस्ता खाडी देशहरूको आग्रहपछि योजना गरिएको आक्रमण रोकिएको घोषणा गरे । ती देशहरूले युद्ध रोक्न कूटनीतिक प्रयास गरिरहेका छन् । बुधबार ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी इरानसँगको वार्ताको अन्तिम चरणमा छौं । अब के हुन्छ हेर्नेछौं ।” उनले सम्झौता नभए कडा कदम चाल्न सकिने चेतावनी पनि दिएका छन् ।
उता नेतान्याहू भने इरानविरुद्ध अझ कडा सैन्य कारबाही चाहिरहेका छन् । उनले आक्रमण रोक्नु गल्ती भएको भन्दै योजना अनुसार अघि बढ्न ट्रम्पलाई आग्रह गरेको बताइएको छ ।
एक इजरायली अधिकारीका अनुसार ट्रम्प अझै सम्झौताको सम्भावना खोजिरहेका छन् भने नेतान्याहू सैन्य कारबाही पुनः सुरु होस् भन्ने चाहन्छन् । यसैबीच इरानले अमेरिकासँग पाकिस्तानमार्फत सन्देश आदानप्रदान भइरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको बताएका छन् ।