पाकिस्तानी दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

अनलाइनसमय |
६ जेठ २०८३
पाकिस्तानी दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत निबन्ध लेखन प्रतियोगिता’ र ९औँ वार्षिक ‘पाकिस्तानका राजदूत वक्तृत्व प्रतियोगिता–२०२६’को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । पाकिस्तानका राजदूत एच.ई. अबरार एच. हाश्मीको प्रमुख आतिथ्यतामा मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यस वर्ष पाकिस्तानका संस्थापक क्वाइड–ए–आजम मुहम्मद अली जिन्नाको १५०औँ जन्मजयन्तीको अवसरमा निबन्ध प्रतियोगिताको विषय ‘संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई मूलधारमा ल्याउनेमा क्वाइड–ए–आजम मुहम्मद अली जिन्ना’ रहेको थियो ।

निबन्ध लेखन प्रतियोगितामा काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम भए । त्यसैगरी चण्ड बाग स्कुलका दक्षेश घिमिरे द्वितीय र प्राञ्जली वल्र्ड स्कुलका नितिन थापा तृतीय भएका छन् । उनीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो । साथै उत्कृष्ट १२ जना विद्यार्थीलाई विशेष पुरस्कार र प्रमाणपत्र दिइएको थियो ।

त्यसैगरी वक्तृत्व प्रतियोगितामा उच्च माध्यमिक र विश्वविद्यालय तहका विद्यार्थीहरूले ‘के एआईले पुस्तकालयलाई विस्थापित गर्छ ?’ भन्ने विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

वक्तृत्व प्रतियोगितामा रिलायन्स कलेजकी विश्वकला नेपाल प्रथम भइन् । नेशनल ल कलेजका छिरिङ तामाङ द्वितीय र सेन्ट जेभियर्स कलेज, माइतीघरका बिप्यम चौलागाईं तृतीय भएका छन् । उनीहरूलाई पनि प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ । बाँकी १२ जना सहभागी विद्यार्थीहरूले समेत प्रमाणपत्र र पुरस्कार प्राप्त गरे ।

देशभरका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयबाट विद्यार्थीहरूको सहभागिता रहेको यस प्रतियोगिता पछिल्ला दुई हप्तादेखि चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो, जसको समापन मंगलको कार्यक्रममा भएको हो ।

कार्यक्रमको समापनमा राजदूत हाश्मीले विद्यार्थीहरूको आलोचनात्मक सोच र विचारप्रति प्रशंसा व्यक्त गर्दै उनीहरूले संविधान, जिन्नाको योगदान र समसामयिक विषयमा देखाएको समझदारी सराहनीय भएको बताए ।

यो प्रतियोगिता लगातार ९ र १३ वर्षदेखि आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस