७९ देशका १ हजार १८१ जनाले लिए हिमाल आरोहणको अनुमति

अनलाइनसमय |
५ जेठ २०८३
७९ देशका १ हजार १८१ जनाले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं, ५ जेठ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि १ हजार बढीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका १ हजार १८१ आरोहीले अनुमति लिएका हुन्, जसमध्ये ८९८ पुरुष र २८३ महिला रहेका छन् ।

सो अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन्, जसमध्ये १०५ महिला र ३८९ पुरुष रहेका छन् ।

सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १०९ चिनियाँ नागरिकले अनुमति लिएका छन् । त्यस्तै, अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी ल्होत्से हिमालकाका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् । यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन् ।

विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सबैभन्दा सगरमाथाबाट १ अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यसतै, ल्होत्सेबाट ६ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्घाबाट १ करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट १ करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण प्रथमबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी, सन् २०२६, बसन्त ऋतुमा हालसम्म हिमाल आरोहण गर्ने पर्वतारोही दलसँग ११७ सम्पर्क अधिकृत खटाइएको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस