काठमाडौं, ५ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसकै कारण अहिले कोशी प्रदेश लगायत गण्डकी प्रदेशका तराई तथा बाकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यसैगरी, आज राति गण्डकी प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेश तथा बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।