काठमाडौं, ३१ वैशाख । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ०७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७३० दशमलव १७ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार परिसूचक ४ दशमलव १५ अङ्कले घटेर २,७४० को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ४६ हजार ४०२ पटक किनबेच भएको छ ।
बिहीबार ३३७ धितोपत्र कारोबारमा आए, जसमध्ये १७४धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८० धितोपत्रको मूल्य बढेको छ भने १४ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । अन्य समूहको उपसूचक सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्सको ०.७२, विकास बैंकको ०.५३, उत्पादनमुलक समूहको ०.५२, निर्जीवन बीमाको ०.५१, होटल एण्ड टुरिजमको ०.३० र लगानी समूहको उपसूचक ०.२६ प्रतिशतले घटेको छ ।
व्यापार समूहको उपसूचक ०.३२, म्युचुअल समूहको ०.८ र जीवन बीमाको ०.१ प्रतिशतले बढेको छ ।
बिहीबार यूनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.२२ प्रतिशतले बढेको छ ।
आज एसियन हाइड्रोपावरको शेयर मूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, हिमालयन रि–इन्स्योरेन्सको ७.१२, नारायणी डिभलपमेन्ट बैंकको ५.९१, रिज लाइन इनर्जीको ४.७४ र भुजुङ्ग हाइड्रोपावरको ४.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।