काठमाडौं, १४ वैशाख । सानिमा क्यापिटलले वैशाख २४ देखि बन्दमुखी योजना सानिमा इक्विटी फन्ड २ निष्कासन गर्ने भएको छ । योजना सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुनेछ ।
योजनाअन्तर्गत कम्पनीले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फन्ड १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
फण्डको इकाई खरिदका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति जेठ ७ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।