काठमाडौं, १४ वैशाख । स्नो रिभर्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि वैशाख २९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।
त्यसैगरी, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोष तथा १८ हजार ७५० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । यस आईपीओको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म तोकिएको छ ।