काठमाडौं, २ वैशाख । गत आर्थिक वर्ष (आव) २०८१/८२ को नौ महिनाको तुलनामा चालू आवको यसै अवधिमा आएको वैदेशिक लगानी प्रतिबद्धता २७ दशमलव ९० प्रतिशतले घटेको छ ।
उद्योग विभागका अनुसार चालू आव २०८२/८३ को चैतसम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट) र अप्रुभल रूटमार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवको सोही अवधिमा यस्तो प्रतिबद्धता ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ आएको थियो ।
चैतसम्ममा अप्रुभल रूटबाट सबैभन्दा धरै विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अप्रुभल रूटबाट १८९ उद्योगका लागि ३७ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ४२६ उद्योगका लागि ४ अर्ब ९ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालू आवको चैतसम्ममा ५९९ वटा साना उद्योग, ८ वटा मझौला र ८ ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २२ हजार ३१६ जनाले रोजगारी पाउनेछन् ।
आईटी क्षेत्रमा १.४५ अर्ब लगानी प्रतिबद्धता
परियोजनाको हिसाबले सबैभन्दा धेरै सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार चैतसम्ममा आईटी क्षेत्रका ३४६ उद्योगमा १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवमा यस क्षेत्रमा १८५ उद्योगका लागि १ अर्ब ११ करोड १६ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
लगानी रकमको हिसाबले भने सबैभन्दा धेरै कृषि क्षेत्रमा छ । चालू आवको चैतसम्ममा यस क्षेत्रमा १६ उद्योगका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै पर्यटन क्षेत्रमा ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका १६४ उद्योग स्थापना हुने छन् । सो अवधिमा सेवामुलक क्षेत्रमा ३ अर्ब ८९ करोड ६४ लाख, उत्पादनमुलक क्षेत्रमा २ अर्ब ५४ करोड ५६ लाख, उर्जामुलक क्षेत्रमा २३ करोड ४२ लाख र खनिजतर्फ ११ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।