काठमाडौं, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को उद्घाटन गर्दै सभामुख अर्यालले सीप आजको समयमा अतिरिक्त योग्यता नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताए ।
उनले संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमा अनुभूति हुने गरी अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै उनले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए । बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्वपूर्ण दिशा बनाउनुपर्ने उनको भनाइ थियो ।
सभामुख अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गरे । उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन गरेका, १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका तथा रोजगारदाताले १४ हजार ७८८ रोजगारीका लागि माग गरेको उनले जानकारी दिए ।
उनले स्वदेशमा रोजगारी खोज्ने युवा र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीचको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीचको तालमेल आवश्यक रहेको बताए । साथै, ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले मेला सीपमूलक, उत्पादनशील र मर्यादित रोजगारीतर्फको महत्वपूर्ण पहल भएको बताए ।
असोज २० गतेसम्म सात दिन सञ्चालन हुने मेलामा उद्यमशीलता, डिजिटल मार्केटिङ, आतिथ्य सत्कार, ब्युटिसियन, कुक तथा वेटर, इलेक्ट्रिक सवारी तथा वातानुकूलन (एसी) मर्मत र बारिस्तालगायत १० वटा विषयमा पूर्णतः निःशुल्क तथा छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ । यसका साथै ६५ वटा स्टलमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक एवं वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।