काठमाडौं, १४ असोज । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन तथा विविधीकृत सेवा प्रदान गर्न सक्षम बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ ।
अर्थ मन्त्रालयले गत भदौ २९ गते जारी गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को बुँदा नं. ३ मा धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरणसम्बन्धी नीति तत्काल सार्वजनिक गर्ने उल्लेख भएअनुसार उक्त नीति लागू गरिएको बोर्डद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बोर्डका अनुसार नीतिको मुख्य उद्देश्य सुदृढ पुँजी, व्यावसायिक सुशासन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन, निष्पक्ष बजार तथा ग्राहक हित संरक्षणमा आधारित सुदृढ, संस्थागत र प्रतिस्पर्धी धितोपत्र दलाल व्यवसायीको विकास गर्नु रहेको छ ।
नीतिले धितोपत्र दलाल व्यवसायीलाई पुँजी, सेवा विविधीकरण, जोखिम वहन क्षमता तथा संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरेको छ । जसअनुसार श्रेणी ‘क’ मा धितोपत्र व्यापारी श्रेणी ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल श्रेणी ‘ग’ मा कारोबारमुखी धितोपत्र दलाल र श्रेणी ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल रहेका छन् ।
श्रेणी ‘क’ अन्तर्गत धितोपत्र व्यापारीले डिलरसिप, धितोपत्र दलाली तथा आदेश कार्यान्वयन, निक्षेप सेवा, मार्जिन कर्जा, बजार निर्माण, योग्य संस्थागत लगानीकर्ता सेवा, स्वामित्वमा आधारित कारोबार, लगानी परामर्श, अनुसन्धान, लगानी व्यवस्थापन, प्रत्याभूति, अन्तरदिवसीय कारोबार तथा धितोपत्र सापटी र उधारो कारोबारलगायत सेवा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, श्रेणी ‘ख’ को पूर्ण सेवा धितोपत्र दलालले धितोपत्र दलाली तथा आदेश कार्यान्वयन, निक्षेप सेवा, मार्जिन कर्जा, बजार निर्माण, स्वामित्वमा आधारित कारोबार, लगानी परामर्श, अनुसन्धान, लगानी व्यवस्थापन, अन्तरदिवसीय कारोबार तथा धितोपत्र सापटी र उधारो कारोबारलगायत सेवा सञ्चालन गर्न सक्नेछन् ।
श्रेणी ‘ग’ को कारोबारमुखी धितोपत्र दलालले धितोपत्र दलाली तथा आदेश कार्यान्वयन, मार्जिन कर्जा, निक्षेप सेवा, स्वामित्वमा आधारित कारोबार, अन्तरदिवसीय कारोबार तथा धितोपत्र सापटी र उधारो कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ । श्रेणी ‘घ’ अन्तर्गत विशिष्टीकृत धितोपत्र दलालमा ऋणपत्रसम्बन्धी धितोपत्र दलाली, संस्थागत धितोपत्र दलाली तथा बजार निर्माणसम्बन्धी सेवा रहनेछन् ।
यस्थै, नीतिमा मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार र बजार निर्माता जस्ता नयाँ सेवा तथा गतिविधिका लागि छुट्टै स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
ब्रोकरहरूको न्यूनतम चुक्ता पुँजीका साथै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने नियम ल्याइएको छ । प्रविधि तथा साइबर सुरक्षा सुदृढीकरणका लागि डिजिटल केवाईसी, मल्टी–फ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, नियमित आईटी अडिट र पेनिट्रेसन टेस्टिङ अनिवार्य गरिएको छ । यस्तै, ब्रोकर व्यवसायीहरूको गाभ्ने÷गाभिने (मर्जर), प्राप्ति तथा व्यावसायिक एकीकरणलाई सहजीकरण गर्ने नीति लिइएको बोर्डले जनाएको छ ।
विद्यमान ब्रोकरहरूलाई नयाँ मापदण्डमा ल्याउन संक्रमणकालीन अवधि दिइनेछ, जसमार्फत ग्याप एसेसमेन्ट, कम्प्लायन्स प्लान र पुँजी तथा प्रविधिको स्तरोन्नति गरी पुनःवर्गीकरण गरिनेछ । यो नीतिलाई संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार र एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकास गरी तीन चरणमा क्रमशः कार्यान्वयन गरिने विज्ञप्तिमा उल्लेख छ ।