काठमाडौं, ३० चैत । नेपाल बीमा प्राधिकरणले नववर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमा क्षेत्रको उपलब्धि र आगामी चुनौतीबारे छलफल गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणकी निर्देशक पूजन ढुङ्गेल अधिकारीले देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको जानकारी दिइन् । बीमा क्षेत्रका अधिकांश परिसूचकहरू सकारात्मक रहेको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गरी यसलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिइन् ।
यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूलाई ऐन, नियम र निर्देशनको पूर्ण पालना गर्दै व्यवसायको गरिमा उच्च राख्न निर्देशन दिए । उनले भने, ‘प्राधिकरणले कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष रूपमा काम गरिरहेको छ । बीमा क्षेत्रमा सुशासन कायम गर्न र नवीनतम प्रविधि अवलम्बन गर्न आवश्यक सहजीकरणका लागि प्राधिकरण सदैव तयार छ । बीमाको पहुँच र गरिमा बढाउन सबै सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ ।’
सोही अवसरमा विद्यार्थीहरूलाई लक्षित गरी तयार पारिएको जानकारीमूलक पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ सार्वजनिक गरिएको थियो । विद्यालय तहदेखि नै बीमाबारे सचेतना फैलाउने उद्देश्यले प्राधिकरणले यो पुस्तक प्रकाशन गरेको हो ।
कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्षहरूका साथै विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना व्यक्त गरेका थिए ।