काठमाडौं, २ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याएको छ ।
मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै कुनै पनि फाइलमा दुई दिनभित्र निर्णय गरिसक्नुपर्ने लगायतका ९ बुँदे आचारसंहिता कार्यान्वयनमा ल्याएको हो ।
आचारसंहिता अनुसार मन्त्रालय र मातहतका निकायका कर्मचारीले कुनै पनि फाइल वा काम डेस्क वा प्रणालीमा पुगेपछि सकेसम्म सोही दिनभित्र र नभए भोलिपल्टभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने छ ।
‘प्रत्येक कर्मचारीले आफ्नो डेस्क वा प्रणालीमा आएका काम सकेसम्म सोही दिनभित्र वा भोलिपल्टसम्म सम्पन्न गरिसक्नुपर्ने । कुनै दुविधा वा बिलम्ब हुने भएमा सम्बन्धित सुपरिवेक्षकलाई समयमै जानकारी गराउनुपर्ने,’ ९ बुँदे आचारसंहितामा भनिएको छ ।
यस्तै, कुनै पनि पत्र वा निर्णय प्रक्रिया सुरु गर्ने कर्मचारीले त्यसको अन्त्यसम्म अनुगमन गर्ने र प्रगतिको विवरण राख्ने दायित्व पनि लिनुपर्ने छ ।
