मन्त्रीहरूको सम्पत्ति प्राथमिकतामा सुन : लगानीको सुरक्षित उपकरण ?

अनलाइनसमय |
२ वैशाख २०८३
मन्त्रीहरूको सम्पत्ति प्राथमिकतामा सुन : लगानीको सुरक्षित उपकरण ?

कुल नारायण श्रेष्ठ,
काठमाडौं, २ वैशाख । ‘देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेंलपुर तोरी फुलेछ ।’ पूर्व सांसद तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाको यो व्यङ्ग्यात्मक टिप्पणी अहिले सामाजिक सञ्जालमा चर्चामा छ । प्रधानमन्त्री तथा मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरणमा सुनको हिस्सा उल्लेख्य देखिएपछि उनको यस्तो टिप्पणी आएको हो ।

सार्वजनिक निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक हुनु नियमित प्रशासनिक प्रक्रिया भए पनि यसपटक मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणले भने नागरिकमा चासो बढायो । कारण थियो– अधिकांश मन्त्रीहरूको सम्पत्तिमा सुनको हिस्सा बढी देखिनु ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएसँगै यतिबेला ‘सुन’ नै बहसको केन्द्र बनेको छ । सामाजिक सञ्जालमा बालेन क्याबिनेटलाई सुनले भरिएको देखाउने एआई–निर्मित तस्बिरहरू छ्यापछ्याप्ती भेटिन्छ ।

८ सय तोलाभन्दा बढी सुन, कसको कति ?

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूसँग करिब ८ सय तोला सुन रहेको देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी १९० तोला सुन रहेको छ भने उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री बालेन शाह– १९० तोला

गृहमन्त्री सुधन गुरुङ– ८९ तोला

श्रममन्त्री रामजी यादव– ८० तोला

अर्थमन्त्री स्वर्णिम वाग्ले– ४५ तोला

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल– ३०

स्वास्थ्यमन्त्री निशा मेहेता–३० तोला

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल–२५ तोला

शिक्षामन्त्री सस्मित पोखरेल–२५ तोला

परराष्ट्रमन्त्री शिशिर खनाल– २२ तोला

महिला बालबालिकामन्त्री सीता वादी–१८ तोला

उर्जामन्त्री विराजभक्त श्रेष्ठ– १५ तोला

कानुनमन्त्री सोविता गौतम– १५ तोला

पर्यटनमन्त्री खडकराज पौडेल– ११ तोला

सञ्चारमन्त्री विक्रम तिमिल्सिना– करिब ७ तोला

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी– ५ तोला

सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै यसको स्रोतबारे प्रश्नहरू उठ्न थालेका छन् । सामाजिक सञ्जालमा धेरैले पारदर्शिताको माग गरेका छन् । ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो,’ श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमा लेखे, ‘स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ! स्रोत प्रष्टाइदिनु पर्छ !’

लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता र जवाफदेहिता महत्वपूर्ण मानिन्छ । जनताबाट चुनिएका प्रतिनिधिहरूले आफ्नो सम्पत्ति मात्र नभई स्रोत पनि स्पष्ट पार्नुपर्ने अपेक्षा स्वाभाविक हो ।

सुनको बढ्दो मूल्य

सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा लिइन्छ । विशेषगरी आर्थिक अस्थिरता, मुद्रास्फीति वा अन्तर्राष्ट्रिय बजारको अनिश्चिततामा लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुने गर्छन् । नेपालमा कतिपय लगानीकर्ताले भौतिक सुन (गरगहना वा सुनको सिक्का) खरिद गर्ने गर्छन् । विश्व सुन परिषद्का अनुसार हालसम्म २२ वर्गमिटर सुन उत्खनन गरिएको छ ।

विश्व बजारमा पछिल्लो समय सुनको मूल्य लगातार बढ्दो क्रममा छ, जसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । मूल्य वृद्धि हुँदाहुँदै पनि नेपालमा सुन आयात घट्नुको सट्टा बढ्दो क्रममा रहेको भन्सार विभागको तथ्यांकले पुष्टि गर्छ ।

नेपाली बजारमा गत माघ १४ गते सुनको मूल्यले नयाँ रेकर्ड बनायो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो दिन सुन तोलामा ३ लाख १९ हजार रुपैयाँ कायम भयो, जुन हालसम्मकै उच्च हो । यद्यपि आज (वैशाख २ गते) सुन तोलामा ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनमा लगानी : सुरक्षित कि जोखिम ?

सुनलाई ‘सम्पत्ति संरक्षण’को माध्यम मानिन्छ । अन्तर्राष्ट्रिय आर्थिक विश्लेषकहरूका अनुसार मुद्रास्फीति बढ्दा मुद्रा कमजोर हुन्छ, तर सुनले दीर्घकालमा आफ्नो मूल्य जोगाइराख्ने प्रवृत्ति देखाउँछ । यही कारणले धेरै लगानीकर्ताहरू आर्थिक अनिश्चितताका बेला सुनतर्फ आकर्षित हुन्छन् ।

फेब्र्स डट कमका अनुसार सुनलाई ‘सेफ हेभेन’ अर्थात् सुरक्षित सम्पत्तिको रूपमा लिइन्छ । युद्ध, राजनीतिक अस्थिरता वा आर्थिक संकटका समयमा अन्य सम्पत्ति घट्दा सुनको मूल्य बढ्ने सम्भावना रहन्छ । साथै सुन पोर्टफोलियो विविधीकरणको एउटा महत्वपूर्ण उपकरण हो । शेयर, बन्ड र नगदसँगै सुन राख्दा जोखिम सन्तुलन गर्न सकिन्छ ।

मनि डट कमका अनुसार सुनले मुद्रास्फीतिबाट सम्पत्ति जोगाउन मद्दत गर्छ र दीर्घकालीन रूपमा खरिद शक्ति कायम राख्न सहयोग पु¥याउँछ ।

यद्यपि सुन पूर्ण रूपमा जोखिममुक्त भने होइन । यसको मूल्य पनि बजारको माग–आपूर्तिमा निर्भर हुने भएकाले उतारचढाव हुन्छ । साथै सुनले ब्याज वा लाभांशजस्तो नियमित आम्दानी पनि दिँदैन ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार एकै पटक ठूलो मात्रामा सुन खरिद गर्नु जोखिमपूर्ण हुन सक्छ । समय–समयमा बिस्तारै लगानी गर्नु उचित हुन्छ ।

बेलफास्ट विश्वविद्यालयका आर्थिक इतिहासकार डा. फिलिप फ्लायर्सका अनुसार सुनको मूल्य लामो समयदेखि बढ्दो क्रममा देखिए पनि यसलाई ‘सुरक्षित दाउ’ मात्र मान्न सकिँदैन । उनले भनेका छन्, ‘जब बजार स्थिर हुन्छ र सरकारहरूले दीर्घकालीन नीति बनाउँछन्, तब सुनप्रतिको आकर्षण घट्न सक्छ ।’ उनले सुनमा लगानी गर्ने हो भने दीर्घकालीन सोच राख्नुपर्ने सुझाव दिएका छन् ।

विज्ञहरूका अनुसार सुन सुरक्षित लगानी हो तर यसको मूल्य उतारचढाव हुने भएकाले जोखिम पनि हुन्छ । यद्यपि दीर्घकालमा यसले मुद्रास्फीतिबाट सम्पत्ति जोगाउन मद्दत गर्छ । तर सुनबाट ब्याज वा नियमित आम्दानी नआउने भएकाले एकै पटक धेरै लगानी नगरी बिस्तारै लगानी गर्नु राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस