काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन् ।
संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा शुक्रबार निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिएको राससमा उल्लेख छ ।
संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।
सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरेको छ ।