आज ७५औं प्रजातन्त्र दिवसः सन्तुष्ट छैनन् जनता

अनलाइनसमय |
७ फागुन २०८१
आज ७५औं प्रजातन्त्र दिवसः सन्तुष्ट छैनन् जनता

कुल नारायण श्रेष्ठ,
काठमाडौं, ७ फागुन । आज ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रजातन्त्र प्राप्ति आफैंमा एउटा ऐतिहासिक महत्पूर्ण उपलब्धि थियो । १०४ वर्ष लामो जहानीय राणा शासनको अन्त्य भई २००७ फागुन ७ गते प्रजातन्त्रको उदय भयो । तर सात दशक बितिसक्दा पनि नेपाली जनताले जुन अपेक्षा, आकांक्षाले ल्याएका प्रजातन्त्रको स्थायित्व, सुशासन, आर्थिक समृद्धि लगायतको अनुभव पूर्ण रूपमा गर्न सकेका छैनन् ।

२००७ सालमा आजकै दिन प्राप्त भएको प्रजातन्त्र त्यसयता बीचबीचमा संकटमा पर्दै आएको इतिहास छ । २०१५ सालमा आम निर्वाचन सम्पन्न भइ लोकतान्त्रिक अभ्यास थालनी भए पनि २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक प्रणालीमाथि हस्तक्षेप गरी निरंकुश पञ्चायती शासन शूरू गरे । २०४६ सालको जनआन्दोलनपछि पुनः बहुदलीय व्यवस्था स्थापित भयो ।

२०६२/६३ को दोस्रो जनआन्दोलनपछि राजतन्त्रको अन्त्य हुँदै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो । गणतन्त्र स्थापनापछि संविधान निर्माण, संघीय संरचनाको कार्यान्वयन, समावेशीता, मानवअधिकार तथा प्रेस स्वतन्त्रता जस्ता क्षेत्रमा सुधार भए पनि जनता सन्तुष्ट देखिँदैनन् ।

देशको राजनीतिक अस्थिरता, न्यून आर्थिक वृद्धि, भ्रष्टचार, बेरोजगारी, मँहगी, शिक्षा, स्वास्थ्य सेवाको अभाव जस्ता समस्याले जनतामा निराशा कायमै छ । ७५ वर्षअघि सहिदहरूले बलिदान दिएका थिए, जसको उद्देश्य तत्कालीन राणा शासनले कुन्ठित गरेका नेपालको शिक्षा, स्वास्थ्य, मौलिक हकअधिकार सुनिश्चितता गर्ने थियो । पारदर्शी शासन प्रणाली, आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य, समान अवसर, सुशासन प्राप्ति उनीहरूको अपेक्षा थियो ।

भिमदत्त नगरपालिका, कञ्चनपुरका धन बहादुर साउदका अनुसार प्रजातन्त्र आए पनि जीवनस्तरमा खासै परिवर्तन आएको छैन । ‘वाक स्वतन्त्रता, मौलिक हकअधिकार त पायौं, तर जति अपेक्षा गरेका थियौं, त्यो उपलब्धि हुन सकेन,’ उनले भने, ‘पार्टीगत गुटबन्दीका कारण आफ्ना कार्यकर्ता बाहेक अरुलाई अवसर नदिने प्रवृत्ति छ, जसले प्रजातन्त्रको वास्तविक महशुस गर्न दिँदैन ।’

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक कुन्जील यादवले सहिदहरूको सपना र जनताको आकांक्षा अनुसारको उपलब्धि हुन नसकेको बताए । ‘प्रजातन्त्रको मूल मर्मअनुसारको उपलब्धि भएको छैन,’ उनले भने, ‘अस्थिर राजनीतिक प्रणाली, शिक्षा, स्वास्थ्य, अधिकार र रोजगारीमा समान अवसरको अभाव देखिन्छ ।’

७५औं प्रजातन्त्र दिवसको रौनक सरकारी औपचारिक कार्यक्रमहरूमा देखिए पनि जनतामा असन्तोष र निराशा कायमै छ । प्रजातन्त्रको सही मर्म र उद्देश्य प्राप्तिका लागि अबको राजनीतिक नेतृत्वले ठोस कदम चाल्नुपर्ने जनअपेक्षा बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस