काठमाडौं, १३ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै आज नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते तोकिएको छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरण राष्ट्र बैंकले तरलता प्रशोचन गर्न प्रयोग गर्ने विभिन्न उपकरण मध्ये एक हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्ने गर्छ ।