काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम थियो । तर उनको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले उर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे । उनले भने, ‘पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्नुहुन्छ । त्यसकारण मैले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम मेरै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले खनिज तत्त्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवम् समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गरे ।
उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित थिए ।