सरकारको आम्दानी : राजस्वका दुवै निकायले भेटेनन् लक्ष्य

अनलाइनसमय |
२ माघ २०८१
सरकारको आम्दानी : राजस्वका दुवै निकायले भेटेनन् लक्ष्य

काठमाडौं, २ माघ । नेपालमा लक्ष्यअनुसार राजस्व असुली हुन नसक्नु पुरानै समस्या हो, जुन यस वर्ष पनि दोहोरिएको छ ।

चालू आर्थिक वर्ष (आव)को पुस मसान्तसम्ममा सरकारको आम्दानी लक्ष्यको आधा पनि भएको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार आवको ६ महिनामा सरकारको आम्दानी ५ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँ रहेको छ, जुन लक्ष्यको ३९ दशमलव ४३ प्रतिशत हो । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

लक्ष्यअनुसारको राजस्व उठाउन सरकारका राजस्व सम्बन्धी दुवै निकाय असफल देखिएका छन् । राजस्व उठाउने प्रमुख निकाय भन्सार विभाग हो । विभागले गत पुस मसान्तसम्ममा २ खर्ब २६ अर्ब २८ करोड रुपैयाँ राजस्व असुली गरेको छ । यो अर्धवार्षिक लक्ष्यको ८० दशमलव ७० प्रतिशत मात्र हो । आवको पहिलो ६ महिनामा २ खर्ब ८० अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने विभागको लक्ष्य थियो ।

यस्तै आन्तरिक राजस्वतर्फ पनि लक्ष्यअनुसारको असुली हुन सकेको छैन । ६ महिनामा आन्तरिक राजस्व विभागले ८४ दशमलव ५१ प्रतिशत मात्र असुली गरेको छ । गत आवको यसै अवधिमा ८१ दशमलव ०६ प्रतिशत राजस्व उठाएको थियो ।

गत पुससम्ममा विभागले विभिन्न ८ शीर्षकमा २७ करोड १८ लाख ८९ हजार रुपैयाँ उठाएको छ । जसमध्ये दुई शीर्षक बाहेक सबैमा लक्ष्यअनुसार राजस्व उठाउन सकेन । सो अवधिमा सबैभन्दा धेरै राजस्व असुली अन्य शीर्षकमा भएको छ । यो शीर्षकमा ३८५९ दशमलव ४४ प्रतिशत उठेको छ । दोस्रो धेरै शिक्षा शीर्षकमा १७८ दशमलव ६७ प्रतिशत राजस्व असुली भएको छ । यसपछि अन्तः शुल्क, आन्तरिक भ्याट, आयकर लगायत शीर्षकमा क्रमशः बढी राजस्व असुली भएको छ ।

चालू आवको पहिलो ६ महिनामा ३२ करोड १७ लाख ४२ हजार रुपैयाँ राजस्व उठाउने विभागको लक्ष्य थियो ।

सो अवधिमा सरकारको बजेट खर्च ६ खर्ब ६७ अर्ब ६० करोड भएको छ । जसमध्ये पुँजीगततर्फ ५६ अर्ब ९३ करोड, चालूतर्फ ४ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको तथ्याङ्क छ । सरकारले चालू आवमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस