काठमाडौं, २८ पुस । मधेश प्रदेशको औद्योगिक क्षेत्रतर्फको कुल कर्जा प्रवाह बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तुलनामा २०८०/८१ को सोही अवधिमा औद्योगिक क्षेत्रतर्फ ११ दशमलव २ प्रतिशतले कर्जा प्रवाह बढेको हो । यो वद्धिसँगै यस प्रदेशको औद्योगिक कुल कर्जा प्रवाह रू. १ खर्ब २१ अर्ब ८७ करोड रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यस्तो कर्जा प्रवाह रू १ खर्ब ९ अर्ब ५९ करोड रहेको थियो ।
समीक्षा अवधिमा यस प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ६३ दशमलव ४९ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २ दशमलव ४५ प्रतिशत रहेको छ । यस प्रदेशमा सबैभन्दा धेरै उद्योग पर्सा जिल्लामा रहेकोले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह उक्त जिल्लामा भएको देखिन्छ ।
कैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा धेरै गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३ दशमलव ६८ प्रतिशत र सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ४६ प्रतिशत रहेको छ ।
यस्तै कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३४ दशमलव ५५, निर्माण उद्योगतर्फ ५ दशमलव ६७, धातुको उत्पादन, मेशिनरी/इलेक्ट्रोनिक्स/धातुका सामान उत्पादनतर्फ ४ दशमलव ३७ र खानी उद्योगतर्फ १ दशमलव २५ प्रतिशत कर्जा प्रवाह भएको छ ।