• अर्थ, ताजा समाचार

    पाँच महिनामा विकास खर्च ११ प्रतिशत, राजस्व संकलन २८ प्रतिशत मात्रै

     50 Views
    पाँच महिनामा विकास खर्च ११ प्रतिशत, राजस्व संकलन २८ प्रतिशत मात्रै

    काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा सरकारकोे पुँजीगत खर्च ११ दशमलव ५९ प्रतिशत भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मंसिरसम्ममा विकास लक्षित पुँजीगत खर्च रू. ४० अर्ब ८० करोड भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा ० दशमलव ३६ प्रतिशत विन्दुले कमी हो । गत आवको पहिलो पाँच महिनामा यस्तो खर्च वार्षिक बजेट विनियोजनको ११ दशमलव ९४ प्रतिशत अर्थात् रू. ३६ अर्ब ६ करोड थियो ।

    चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ रू. ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट रू. ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको थियो ।

    २८ प्रतिशत राजस्व संकलन

    चालू आवको पहिलो पाँच महिनामा वार्षिक लक्ष्यको रू. ३ खर्ब ९९ अर्ब ५९ करोड अर्थात् २८ दशमलव १५ प्रतिशत राजस्व उठाएको छ । सरकारले यस वर्ष रू. १४ खर्ब १९ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

    सो अवधिमा कर राजस्वतर्फ रू. ३ खर्ब ६२ अर्ब ५८ करोड र गैर–कर राजस्वतर्फ रू. ३७ अर्ब १ करोड संकलन भएको छ । चालू आवमा रू. १२ खर्ब ८४ अर्ब २० करोड कर तथा रू. १ खर्ब ३५ अर्ब ९ करोड गैर–कर उठाउने लक्ष्य छ ।

    ३१.८७ चालू खर्च

    सरकारले २०८१ को मंसिर मसान्तसम्ममा चालू खर्च रू. ३ खर्ब ६३ अर्ब गरेको छ, जुन वार्षिक बजेट विनियोजनको ३१ दशमलव ८७ प्रतिशत हो । यस वर्ष सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड चालू खर्चतर्फ विनियोजन गरेको छ ।

    यस्तै चालू आवको मंसिर मसान्तसम्ममा वित्तीय व्यवस्थातर्फको वार्षिक बजेट विनियोजनको रू. १ खर्ब ५१ अर्ब ७६ करोड अर्थात् ४१ दशमलव ३२ प्रतिशत खर्च भएको छ । चालू आवका लागि सरकारले रू. ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन गरेको छ ।

    चालू आवमा सरकारले वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख लिने लक्ष्य राखेकोमा हालसम्म प्राप्त भएको छैन ।

    यसमा तपाइको मत

    Facebook Comment