घर जग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्दै

अनलाइनसमय |
२८ मंसिर २०८१
घर जग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्दै

काठमाडौं, २८ मंसिर । ब्याजदर घट्न थालेसँगै बैंक तथा वित्तीय संस्थाबाट घर जग्गा क्षेत्र (आवासीय व्यक्तिगत तथा व्यावसायिक)मा प्रवाह हुने कर्जा बढ्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा गत वर्षको यसै अवधिको तुलनामा घरजग्गा क्षेत्रमा बैंकहरूको कर्जा बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको पहिलो चार महिनामा व्यक्तिगत आवासीय र घर जग्गा (रियल इस्टेट) कर्जा बढेको छ ।

चालू आवको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत आवासीय घर कर्जा रू. ३ खर्ब ९७ अर्ब २३ करोड रहेको छ । गत आवको यसै अवधिमा यस्तो कर्जा रू. ३ खर्ब ७६ अर्ब ५८ करोड थियो । यस्तै घर जग्गा कर्जा २ खर्ब ६८ अर्ब ८४ करोड रहेको छ । गतवर्षको यसै अवधिमा यस्तो कर्जा रू. २ खर्ब ४४ अर्ब ७५ करोड थियो ।

चालू आवको पहिलो चार महिनामा सबैभन्दा बढी व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंककोे यस्तो कर्जा रू. ५५ अर्ब ८ करोड छ । यो कर्जा धेरै प्रवाह गर्ने दोस्रो बैंक ग्लोबल आईएमई रहेको छ । बैंकले व्यक्तिगत आवासीयतर्फ रू. ३६ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । यो कर्जा बढी प्रवाह गर्ने तेस्रो, चौथो र पाँचौं बैंकहरूमा नबिल बैंक रू. २६ अर्ब ६३ करोड, राष्ट्रिय वाणिज्य बैंक रू. २६ अर्ब १२ करोड र एभरेष्ट बैंक रू. २२ अर्ब ७५ करोड रहेको छ ।

सो अवधिमा घर जग्गा कर्जा धेरै प्रवाह गर्ने बैंक पनि एनआईसी एशिया नै रहेको छ । बैंकले यस्तो कर्जा रू. २७ अर्ब २१ करोड प्रवाह गरेको छ । यसैगरी घर जग्गा कर्जा बढी प्रवाह गर्ने अन्य बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रू. २४ अर्ब ७४ करोड, नबिल बैंकले रू. २३ अर्ब ७४ करोड, प्राइम कमर्सियल बैंकले रू. १९ अर्ब ७१ करोड र ग्लोबल आईएमई बैंकले रू. १६ अर्ब ६७ करोड प्रवाह गरेको छ ।

राष्ट्र बैंकले अधिकतम दुई करोडसम्मको घरकर्जालाई व्यक्तिगत आवासीय र दुई करोडभन्दा बढीको कर्जालाई घर जग्गा शीर्षकको कर्जामा गणना गर्दै आएको छ ।

वाणिज्य बैंकहरूको व्यक्तिगत आवासीय तथा घर जग्गा कर्जाको प्रवाह

रू. दश लाखमा

स्रोत : नेपाल राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस