काठमाडौं, २८ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रू. १ खर्ब २८ अर्ब ४७ करोड रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको कात्तिकको तुलनामा चालू आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ५ प्रतिशत बढेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा रू. ९९ अर्ब ४० करोड अर्थात् २ दशमलव १ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव २ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ यस्तो कर्जा ६४ दशमलव १ प्रतिशत प्रवाह कएको छ । गत आवको सोही समयमा ६३ दशमलव १ प्रतिशत थियो । यस्ते व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ यस्तो कर्जा ३५ दशमलव ९ प्रतिशत प्रवाह भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा ३६ दशमलव ९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २ दशमलव ६ प्रतिशत, विकास बैंकको २ दशमलव ० प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह ३ दशमलव ९ प्रतिशत बढेको छ ।
तथ्याङ्क अनुसार २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १३ दशमलव ५ प्रतिशत रहेको छ । गत वषको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव १ प्रतिशतन थियो । समीक्षा अवधिमा घर जग्गा धितो सुरक्षणमा ६६ दशमलव ० प्रतिशत रहेको छ । गत वर्षको कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जा ६७ प्रतिशत ३ प्रतिशत रहेको थियो ।
चालू आवको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ दशमलव १ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव ८ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २ दशमलव १ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ दशमलव ६ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २ दशमलव ९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २ दशमलव ५ प्रतिशत बढेको छ । यस्तै कृषि क्षेत्रतर्फ हुने कर्जा प्रवाहमा भने ० दशमलव ९ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २ दशमलव ७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १९ दशमलव ६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २२ दशमलव १ प्रतिशत, हायर पर्चेज कर्जा २ दशमलव १ प्रतिशत, नगद प्रवाह कर्जा ० दशमलव ६ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १ दशमलव ७ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ६ दशमलव ६ प्रतिशत घटेको छ ।