‘सरकारको नीतिगत अस्पष्टताले उद्योग व्यवसाय समस्यामा’

अनलाइनसमय |
१६ मंसिर २०८१
‘सरकारको नीतिगत अस्पष्टताले उद्योग व्यवसाय समस्यामा’

काठमाडौं, १६ मंसिर । लामो समयसम्म फैलिएको कोभिड–१९ ले अधिकांश देशको अर्थतन्त्रमा समस्या आयो । यसको असर नेपालमा पनि देखियो । निषेधाज्ञाले व्यापार, व्यवसाय, पर्यटनलगायत उत्पादनशील क्षेत्र ठप्प बन्यो । पछिल्लो समय आर्थिक गतिविधि चलायमान भए पनि अर्थतन्त्र सकारात्मक दिशातर्फ बढेको खासै पाइँदैन ।

साढे दुई वर्षसम्म कोभिड–१९ को कारण अर्थतन्त्र शिथिल बन्यो । त्यसपछि पनि विभिन्न कारण बढ्न सकेन । बेलाबेलामा हुने सरकार परिवर्तन पनि एउटा उदाहरण हो । देशमा लगानीमैत्री वातावरण नहुनु, युवा जनशक्ति बाहिरिनुले अर्थतन्त्रमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारेको छ ।

कोभिड–१९ पछि सरकारले केही वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न लगायो, जसकारण उद्योगी, व्यवसायी मारमा परे । ठूला व्यवसायी पनि त्रसित बन्दै लगानी सुरक्षित गर्नतर्फ लागे । एलसीको प्रतिबन्धले अवैध रूपमा सामान भित्रिन थाल्यो ।

त्यस्तै चालू पुँजी निर्देशिका जारी भयो । यसले कर्जा लिने, ब्याज तिर्ने प्रक्रिया परिवर्तन भयो । व्यापार, व्यवसाय फस्टाउन सकेन । त्यति नै बेला साना व्यवसायीहरुलाई ऋण तिर्न बाध्य बनाइयो, जसबाट पनि उनीहरु समस्यामा परे । ‘चालू पुँजी निर्देशिकाले कर्जाको सावाँब्याज तिर्ने, कर्जा लिने प्रक्रिया सबैलाई एकैचोटि कन्ट्रोल गरिदियो,’ यसबारे नेपाल वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी भन्छन्, ‘जबकि त्योभन्दा पहिले व्यापारी, व्यवसायी, सर्वसाधारणले सजिलै ऋण लिइरहेका थिए ।’

अर्थतन्त्रको अर्को समस्या साना, घरेलु उद्योग दर्ता गर्न झन्झट, कानुनी अस्पष्टता र भएकै व्यवस्थापनको पनि प्रभावकारी कार्यान्वयन नहुनु रहेको महानिर्देशक अवस्थाीको बुझाइ छ । ‘उत्पादन, लगानीमैत्री वातावरण नहुँदा युवाहरु विदेशिन थाले । अर्कोतिर देशभित्रै भएका मानिसको क्रयशक्ति घट्दै गयो । यसबाट दाल, चामललगायत खाद्य उपभोग वस्तुहरु बाहिरबाट ल्याउनुपर्‍यो । ती खाद्य वस्तुको भाउ बढ्न थाल्यो ।’

उद्योगी व्यवसायीले आफूहरूले निर्धक्कसाथ लगानी गर्ने वातावरण नभएको बताउँदै आएका छन् । सरकारले उद्योग व्यवसायमैत्री नीति ल्याएर लगानीको वातावरण सृजना गर्नुपर्ने निजीक्षेत्रको माग छ । साना उद्यमीका लागि परियोजना कर्जा, बजारीकरण सरकारको प्राथमिकता हुनुपर्ने महानिर्देशक अवस्थी बताउँछन् ।

यस्तै वैदेशिक रोजगारीमा विभिन्न देश गएकाहरुबाट भित्रिने विप्रेषणलाई लगानी गर्ने वातावरण बनाउनुपर्नेमा अवस्थीको जोड छ । ‘सरकारले सामान्य परिवारका लागि सहुलियत रूपमा ऋणको व्यवस्था गरिदिएर उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुपर्छ । जसले अर्थतन्त्र बिस्तारै उकासिन मद्दत पुग्छ,’ उनले भने ।

(हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम वित्तीय शिक्षामा महानिर्देशक अवस्थीले व्यक्त गरेको विचारमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस