काठमाडौं, २९ कार्तिक । यो साता नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम निरन्तर छ । यस साताको कारोबारको सुरुवात दिनदेखि नै घटिरहेको सुनको मूल्य आज बिहीबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत साता तिहार बिदापछि खुलेको बजारमा सुनको मूल्य घटबढ भइरहेको थियो । यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको थियो , जुन हालसम्मकै उच्च मूल्य हो । त्यसयता दुई साताको अवधिमा सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँ घटिसकेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ९४० रुपैयाँ रहेकोमा यस दिन चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।