काठमाडौं, ३ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् । सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डलाई काम गर्न दिनुपर्ने अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस् । ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेको पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदा आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?’
यस्तै उनले आफूले पाँच वर्ष सत्ता माओवादीलाई चलाउन दिनुपर्ने सुरूदेखि नै भन्दै आएको बताए ।
उनले भने, ‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष कांग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि प्रचण्डजीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भन्न थालिसके । बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टी पनि ठीक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ । मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए ?’
साम्राज्यवादीको समर्थनमा दलालहरूले सत्ता हत्याएको देशमा निष्पक्ष न्यायको कामना गर्नु भनेको आफैँलाई धोका दिनु भएको उनले बताए । अहिलेको अवस्थामा प्रचण्डले चाहेर मात्रै केही गर्न नसक्ने विप्लवको निष्कर्ष छ ।