काठमाडौं, ३१ जेठ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् । बिहीबार काठमडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताए ।
उनले उनले भने, ‘अब संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । राष्ट्रिय सहमतिका साथ त्यसलाई पनि तत्काल पूरा गर्नुपर्छ ।’
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विकास र समृद्धिको प्रक्रियालाई तिब्र बनाउनुपर्ने बेला भएको बताए ।
यस्तै उनले आज एशिया केन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखापरेको भूराजनीतिक संवेदनशीलताका चुनौतीहरुको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेको बताए ।
चुनौती र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको बताए । उनले नेपालमा अहिले सांस्कृतिक र वैचारिक भ्रष्टीकरण व्याप्त रहेको बताए ।