काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रूपैयाँ दरका १५ करोड थान नयाँ सिक्का चलनचल्तीमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।
केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले यी सिक्काहरूको डिजाइन, टकमरी (ढलाइ), आपूर्ति तथा ढुवानीका लागि योग्य अन्तर्राष्ट्रिय कम्पनीहरूसँग शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
बजारमा साना दरका मुद्राको सहज आपूर्ति कायम राख्ने उद्देश्यसहित राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया सुरु गरेको जनाएको छ ।
यस प्रक्रियामा गत मार्च १२, २०२६ (२०८२ फागुन २८) मा ‘द राइजिङ नेपाल’ दैनिकमा प्रकाशित सूचनाअनुसार पूर्वयोग्यता (प्री–क्वालिफिकेसन) छनोटमा परेका सेक्युरिटी मिन्टिङ कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन् । बोलपत्र ‘सिंगल स्टेज, टु इन्भेलप’ प्रक्रियामार्फत आह्वान गरिएको छ, जसमा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा सिलबन्दी गरी एउटै बाहिरी खामभित्र राखेर पेस गर्नुपर्नेछ ।
योग्य कम्पनी वा तिनका आधिकारिक प्रतिनिधिले सन् २०२६ डिसेम्बर २८ (पुस १३) कार्यालय समयभित्र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखाबाट बोलपत्र कागजात खरिद गर्न सक्नेछन् । बोलपत्र कागजातका लागि फिर्ता नहुने गरी नेपाली रूपैयाँ २० हजार, (अमेरिकी डलर १३२ वा युरो ११८) दस्तुर तोकिएको छ ।
बोलपत्रसम्बन्धी छलफल (प्रि–बिड मिटिङ) सन् २०२६ डिसेम्बर ११ (मंसिर २५) दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुनेछ । सिलबन्दी बोलपत्र सन् २०२६ डिसेम्बर २९ (पुस १४) दिउँसो १२ बजेभित्र बुझाइसक्नुपर्नेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।
बोलपत्रको मान्य अवधि १२० दिनको हुनेछ । प्रस्तावसँगै न्यूनतम १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रूपैयाँ वा बोलपत्र मुद्रा बराबरको ‘बिड सेक्युरिटी’ (बोलपत्र जमानत) पेस गर्नुपर्नेछ, जसको अवधि सन् २०२७ मे २८ सम्म कायम रहनुपर्नेछ ।