काठमाडौं, १३ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा साढे २० अर्ब रुपैयाँको विद्युत् निर्यात गरेको छ । साउनदेखि कात्तिकसम्म देशभित्र खपतपछि बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा बिक्री गरेर प्राधिकरणले उक्त आम्दानी गरेको हो ।
प्राधिकरणका अनुसार चार महिनाको अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । यस अवधिमा विद्युत् बिक्रीको औसत मूल्य प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
प्राधिकरणले अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ । यसबाहेक द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार प्रत्येक वर्ष जुनदेखि अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् बिक्री गरिँदै आएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरेर २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो । यसअनुसार गत आवमा आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो ।