काठमाडौं, ११ मंसिर । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी १६ डिसेम्बरमा बङ्गलादेश फर्कने घोषणा गरेकी छन् ।
सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले उनको १५ वर्षे शासन अन्त्य गरेपछि दिल्ली भागेकी ७९ वर्षीया हसिनाले सन् १९७१ को मुक्ति युद्धमा पाकिस्तानमाथि बङ्गलादेशले विजय हासिल गरेको वार्षिकोत्सव अर्थात् ‘विजय दिवस’ को अवसरमा स्वदेश फर्कने योजना बनाएकी हुन् ।
विद्रोहका क्रममा भएको दमनमा उनको भूमिकालाई लिएर मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको अनुपस्थितिमा भएको उक्त सुनुवाइले कानुनी प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको छ । बङ्गलादेशमा उनको पार्टी ‘अवामी लिग’ प्रतिबन्धित छ । संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त विद्रोहका क्रममा सुरक्षा बलको कारबाहीमा १,४०० सम्म मानिस मारिएका थिए ।
सरकारले उनी फर्किएमा तत्काल पक्राउ गरिने बताएको छ र मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने वाचा गरेको छ ।
हसिनाले बङ्गलादेश सरकारले दिल्लीबाट उडानको व्यवस्था गरिदेओस् भन्ने चाहेकी छन्, यदि त्यसो हुन नसकेमा उनी व्यावसायिक उडानमार्फत वा स्थलमार्ग हुँदै सीमा पार गरेर आउन सक्नेछिन् ।
भारत र बङ्गलादेशबीच पश्चिम बङ्गाल, असम, मेघालय, त्रिपुरा र मिजोरम गरी पाँच भारतीय राज्यहरूसँग ४,०९६ किलोमिटर (२,५४५ माइल) लामो सीमा जोडिएको छ । आरिनका अनुसार उनका समर्थकहरूले सीमा पार गर्ने नौवटा सम्भावित नाकाहरू पहिचान गरेका छन् ।
ढाकाले भने यसको कडा प्रतिवाद गर्दै हसिनालाई सुपुर्दगी नै गरिनुपर्ने अडान दोहो¥याएको छ ।
भारतको विदेश मन्त्रालयले बुधबार हसिनाको सुपुर्दगी अनुरोधमाथि स्थापित प्रक्रियामार्फत छानबिन भइरहेको बताउँदै स्वेच्छिक फिर्ती भने छुट्टै विषय हुने उल्लेख गरेको छ ।
हसिनाले सार्बजनिक गरेको यो मिति आफैंमा महत्त्वपूर्ण छ । बङ्गलादेशको स्थापनाको इतिहासमा आफ्नो स्थान पुनः दाबी गर्न हसिनाले ‘विजय दिवस’ को सहारा लिइरहेकी छिन् । सहयोगीहरूका अनुसार उनले निर्वासनमा रहेर आफ्नो पार्टीलाई जीवित राख्न महिनौंदेखि प्रयास गरिरहेकी छिन् ।
आरिनका अनुसार हसिनाले टेलिग्राममा अन्तरक्रियात्मक अडियो संवादमार्फत पार्टीका नेता तथा कार्यकर्ताहरूसँग नियमित सम्पर्क राख्दै आएकी छिन्, जसले निर्वासनबाट जोगाउन कठिन मानिएको सञ्जाललाई जीवित राखेको छ ।
विगत १८ महिनामा उनले यस्ता ३०० भन्दा बढी बैठकहरू गरिसकेको र देशका सबै ६४ जिल्ला तथा ३०० निर्वाचन क्षेत्रका समर्थकहरूसम्म पुगेको उनी बताउँछन् । अवामी लिगका ७८ इकाइहरूमार्फत आयोजना गरिने यस्ता बैठकहरूचार वा पाँच घण्टासम्म चल्ने“ गर्छन् ।
यी बैठकहरूले हसिनालाई पार्टी कार्यकर्ताका कुरा प्रत्यक्ष सुन्न, उनीहरूका गुनासा बुझ्न र धरातलीय यथार्थ थाहा पाउन मद्दत गरेको आरिन बताउँछन्। यसमा व्यापक उत्साहजनक प्रतिक्रिया मिलेको दाबी गर्दै उनले पार्टीले सीमादेखि ढाकासम्मको मार्गमा मानव साङ्लो बनाएर उनलाई स्वागत गर्न ५० लाख मानिस परिचालन गर्न सक्ने बताए । ‘त्यो सम्भव तुल्याउने साङ्गठनिक क्षमता हामीसँग छ,’ उनी भन्छन् ।
अवामीद्वारा देशव्यापी आमहड्तालको आह्वान
हसिनाको फिर्ती तालिका सार्वजनिक भएसँगै राजनीतिक तनाव र हिंसा भड्किएपछि पार्टीले आज (नोभेम्बर २७) र भोलि (नोभेम्बर २८) का लागि देशव्यापी बन्दको घोषणा गरेको हो । पार्टीमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरिनुपर्ने र पक्राउ परेका राजनीतिक बन्दीहरूलाई विनासर्त रिहा गरिनुपर्ने मुख्य अडानसहित अवामी लिगले ८ बुँदे माग अघि सारेर यो आमहड्ताल आह्वान गरेको हो । हसिनाको सम्भावित फिर्ती र बन्दका कारण हुनसक्ने हिंसात्मक झडपलाई ध्यानमा राख्दै बंगलादेशको अन्तरिम सरकारले सीमा क्षेत्र र मुख्य सहरहरूमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ ।
अवामी लिग अझै पनि लाखौं समर्थक भएको ठूलो पार्टी त हो, तर यो प्रतिबन्धित छ र मूलधारको राजनीतिबाट लगभग बाहिरिएको छ । यसको अधिकांश नेतृत्व विदेशमा, जेलमा वा भूमिगत छ । प्रहरीले समर्थकहरूलाई पक्राउ गरेको छ र पार्टी कार्यकर्ताविरुद्ध हजारौं मुद्दा दायर गरेको छ । तैपनि यसका समर्थकहरू सडकमा उत्रिन छाडेका छैनन् । पछिल्ला महिनाहरूमा उनीहरूका आकस्मिक प्रदर्शनहरू अझ बाक्लो र आक्रामक बन्दै गएका छन् । विभिन्न जिल्लाहरूमा बम आक्रमण, आगजनी र तोडफोडका घटनाहरू भएका छन् ।
यसैगरी, भारतका लागि यो दुविधा व्यवस्थापन गर्न झन्–झन् कठिन बन्दै गएको छ । दिल्लीले हसिनालाई आश्रय दिएको छ, तर उनका सार्वजनिक अभिव्यक्तिहरूले ढाकालाई क्रुद्ध बनाएको छ, जसले उनको सुपुर्दगी चाहन्छ । भारतले कूटनीतिक पहल तथा व्यापार, सीमा सुरक्षा र अन्य द्विपक्षीय विषयमा वार्तामार्फत सम्बन्ध सुधार्ने प्रयास गरे पनि सम्बन्ध तनावपूर्ण नै छ । कार्यकाल सम्हालेको झन्डै १० महिना बितिसक्दा पनि प्रधानमन्त्री तारिक रहमानले अझै भारतको भ्रमण गरेका छैनन् ।
अगस्टमा भ्रमणको तयारी भइरहेको बताइएको थियो, तर दिल्लीमा हसिनाले गरेको पत्रकार सम्मेलनले सम्बन्ध सुधार्ने प्रयासमा धक्का पु¥यायो ।