काठमाडौं, ७ मंसिर । नेपाल बैंकर्स संघद्वारा आयोजित पहिलोे ‘एनबीए अन्तर–बैंक फुटसल कप २०२६’ सम्पन्न भएको छ । मंसिर ५ र ६ गते सञ्चालन भएको प्रतियोगितामा नेपालका २० वाणिज्य बैंकहरूको सहभागिता रहेको थियो । खेल पुरुष तथा महिला गरि दुई विधामा संचालन गरिएको थियो ।
पुरुषतर्फको खेलमा लक्ष्मी सन्राइज बैंक लि. विजेता तथा एनएमबि बैंक लि. उपविजेता बन्न सफल भएका छन् । त्यसैगरी, महिलातर्फ एनएमबि बैंक लि. विजेता भएको छ भने कृषि विकास बैंक लि. उपविजेता बनेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधाका पुरस्कारसमेत प्रदान गरिएको थियो । पुरुष तथा महिला दुवै विधामा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी लाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दिर्घ बहादुर रावल प्रमुख अथितिको रुपमा थिए भने नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला र उपाध्यक्ष सुरेन्द्र राज रेग्मीको उपस्थिति रहेको थियो । उनीहरूले प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरूलाई ट्रफी तथा पदक वितरण गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टिमहरूले निकै उत्साहित र अनुशासित रुपमा खेल प्रदर्शन गरेका थिए । प्रतियोगिताले बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य, टिम भावना तथा स्वस्थ प्रतिस्पर्धाको संस्कृति विकास गर्नुका साथै, नियमित कार्यव्यस्तताभन्दा बाहिर कर्मचारीहरूलाई खेलकुदमार्फत एकआपसमा जोड्ने, कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य र समग्र कल्याणलाई प्रोत्साहन गर्ने तथा बैंकिङ क्षेत्रभित्रको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य प्रतियोगिताले लिएको थियो ।
नेपाल बैंकर्स संघले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद तथा सहकार्य प्रवद्र्धन गर्ने गतिविधिलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सम्बन्ध र एकतालाई थप सुदृढ बनाउने अपेक्षा राखेको छ ।