काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवामार्फत भारत प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायतका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् ।
नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण दल ३४ सदस्यीय रहेको छ भने त्यसमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्यहरू थपिनेछन् ।
यस्तै, भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा सहभागी हुने मन्त्रालयले जनाएको छ । भ्रमणको रिपोर्टिङका लागि पनि विभिन्न सञ्चार माध्यमहरूको प्रतिनिधित्व गर्दै पत्रकारहरू निजी खर्चमा जाने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति महामहिम श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन् । यसैगरी, भारतका विदेशमन्त्री महामहिम एस. जयशंकरले नेपालका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी नेपाल एयरलाइन्सको नियमित उडानबाट मंसिर ७ गते साँझ १८ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।