काठमाडौं, १६ कात्तिक । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल(टीआई नेपाल)ले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित केही न्यायाधीशमाथि बिचौलियासँग साँठगाँठ रहेको भन्दै सार्वजनिक समाचारबारे सत्यतथ्य र निष्पक्ष छानबिनको माग गरेको छ ।
ट्रान्सपरेन्सीले सोमबार विज्ञप्ति जारी गर्दै विवादमा परेका न्यायाधीशमाथि संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय लिन आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको निष्पक्षतामा राजनीति, सरकार र बिचौलियाहरूको प्रभाव रहने गरेको भनी विगत लामो समयदेखि विभिन्न कोणबाट गम्भीर प्रश्नहरू उठ्ने गरेकोमा हाल केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत केही न्यायाधीशहरूको साँठगाँठ बिचौलियाहरूसँग रहेको भन्ने समाचारहरू प्रकाशित गरेको र सम्बन्धित न्यायाधीशहरूबाट सोको बारेमा व्यक्त स्पष्टीकरणप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) को गम्भीर ध्यानाकर्षण भएको छ ।’
न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग न्यायाधीशले भेट्नु वा सम्पर्कमा आउनु नैतिकता र आचारसंहिताको गम्भीर उल्लंघन भएको संस्थाको ठहर छ ।
समाचारमा नाम जोडिएका तथा सार्वजनिक रूपमा स्पष्टीकरण दिएका न्यायाधीशलाई उठेका प्रश्नको निरुपण नभएसम्म न्याय सम्पादनको काममा संलग्न नहुनसमेत उसले सुझाव दिएको छ ।
न्यायपालिकाको स्वतन्त्रता र प्रभावकारितासम्बन्धी विषयमा आवश्यक निर्णय गर्ने जिम्मेवारी संसद्को भएकाले ढिलाइ नगरी संसदीय समितिमार्फत अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ । साथै सम्बन्धित न्यायाधीशको सम्पत्तिसमेत छानबिनको दायरामा ल्याउन माग गरिएको छ ।
‘न्याय सम्पादन गर्ने जिम्मेवार व्यक्ति अर्थात् न्यायमूर्तिबाट कानुनमा उल्लिखित भन्दा अझ उच्चतम सदाचारको कसीमा खरो उत्रेर देश र जनताको हितमा कार्य गर्नुपर्ने भएकोले समाचारहरुमा इङ्गित गरिएका तथा आफैँले स्पष्टीकरण दिएका न्यायाधीशहरूले उच्चतम सदाचार प्रदर्शन गरी उठेका प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादन कार्यमा संलग्न नहुन उचित देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।