दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, केएनएआर र इन दिस डार्कनेस आई सी यु उत्कृष्ट घोषित

अनलाइनसमय |
१६ कार्तिक २०८३
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, केएनएआर र इन दिस डार्कनेस आई सी यु उत्कृष्ट घोषित

काठमाडौं, १६ कात्तिक । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) काठमाडौंस्थित रुसी भवन (रसियन हाउस) मा सम्पन्न भएको छ । यो महोत्सव अक्टोबर ३० देखि नोभेम्बर १ सम्म सञ्चालन भएको थियो । यसको आयोजना रुसी भवन काठमाडौं, सिने मेकर्स नेपाल र आईएमई खल्तीको सहयोगमा नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले गरेको हो ।

समापन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति ब्रजेश खनाल समारोहका प्रमुख अतिथि थिए । त्यस्तै, नेपालका लागि रुसी दूतावासका मन्त्री–परामर्शदाता तथा नियोग उपप्रमुख रिन्चेन राक्साएभ, नेपालका पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, रुसी भवन काठमाडौंकी प्रमुख अनास्तासिया खोखलोभा तथा नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष के.पी. पाठक समारोहमा उपस्थित थिए ।

फेस्टिभल निर्देशक रसिक पाठकले हरर फिल्म फेस्ट २०२६ को नतिजा घोषणा गरे । प्रतिस्पर्धामा १८ वटा छोटो फिल्म र ६ वटा फिचर्ड फिल्महरू समावेश थिए । दर्शकको प्रत्यक्ष मतका आधारमा नेपालका निर्देशक आकाश धिमालद्वारा निर्देशित ‘KNAR’ ले ‘सर्वोत्कृष्ट छोटो फिल्म’ को उपाधि जित्न सफल भयो । त्यसैगरी फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त निर्माण तथा नदिम ताबतको निर्देशनमा बनेको ‘In This Darkness I See You’ ले ‘सर्वोत्कृष्ट फिचर फिल्म’ को पुरस्कार हात पार्यो ।

महोत्सवको एक विशेष कार्यक्रमका रूपमा प्योत्र लुत्सिक र एलेक्सी सामोर्यादोभको पटकथामा सर्गेई च्लियान्ट्सद्वारा निर्देशित रुसी फिल्म ‘द विन्ड’ को गैर–प्रतिस्पर्धात्मक प्रदर्शन गरिएको थियो । उक्त शोपछि दर्शकहरू फिल्मबारे छलफल गर्न अबेरसम्म रोकिएका थिए ।

समारोहमा बोल्दै अनास्तासिया खोखलोभाले महोत्सवलाई सम्भव बनाउने सबैलाई धन्यवाद दिए । उनले हरर फिल्म निर्माताहरू र यो विधाप्रति आकर्षित युवाहरूलाई सहयोग गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिए ।

केएचएफएफ नेपालको पहिलो हरर फिल्म फेस्टिभल हो, जुन सन् २०२५ मा रुसी भवनको सहयोगमा सुरु भएको थियो । यो पहिले नै ‘अटर हरर सिनेमा’ का लागि एक महत्त्वपूर्ण मञ्च बनिसकेको छ । प्रत्येक वर्षको कार्यक्रममा प्रमुख अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा प्रशंसा पाएका फिल्महरूको प्रिमियर समावेश हुन्छ, र सर्वोत्कृष्ट पुरस्कार स्वयं दर्शकहरूद्वारा प्रदान गरिन्छ ।

दुई वर्षमा फेस्टिभलको पहुँच उल्लेख्य रूपमा बढेको रुसी हाउसले जनाएको छ । सन् २०२६ मा दर्शकहरूले इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरेबिया, ट्युनिसिया, लेबनान र कतारका फिल्महरू, नेपाली कृतिहरू र रुसी फिल्म ‘द विन्ड’ हेर्न पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस