काठमाडौं, १२ कात्तिक । पछिल्लो एक वर्ष अवधिमा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आधाले घटेको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८३/८४ मा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा १८ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४९ दशमलव ५५ प्रतिशतले कम हो । आव २०८२/८३ मा विदेशी लगानकिर्ताबाट यस्तो प्रतिबद्धता ३७ अर्ब १५ करोड ६७ लाख आएको थियो ।
चालू आवको असोजसम्ममा स्वीकृति प्रणाली (अटोमेटिक रूट) मार्फत सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रका ४१० उद्योग स्थापना गर्न अटोमेटिक रूटबाट १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । त्यस्तै अप्रुभल रूटबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ र शेयर खरिदबाट २ अर्ब ५१ करोड १३ करोडरुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
सो अवधिमा ४१७ वटा साना उद्योग, २ वटा मध्यम (मझौला) र ३ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ५ हजार १२९ जनाले रोजगारी पाउनेछन् ।
कुन क्षेत्रमा कति ?
चालू आवको पहिलो त्रैमासमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ६ अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता गत आवको सोही अवधिको तुलनामा ३१६ दशमलव ५९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा यस्तो प्रतिबद्धता १ अर्ब ४६ करोड मात्रै थियो ।
त्यस्तै, उर्जामुलक क्षेत्रमा ४ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो प्रतिबद्धता भित्रिए यस क्षेत्रका २ उद्योग स्थापना हुने छन् । सेवामुलक क्षेत्रमा ३ अर्ब ५७ करोड, उत्पादनमुलक क्षेत्रका २५ उद्योगका लागि १ अर्ब ६० करोड तथा आईसीटी क्षेत्रका २५२ उद्योगका लागि ९२ करोड ८३ लाख लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।