सुमना लक्षित अध्यक्ष ओलीको टिप्पणीप्रति रास्वपाको आपत्ति

अनलाइनसमय |
२३ जेठ २०८१
सुमना लक्षित अध्यक्ष ओलीको टिप्पणीप्रति रास्वपाको आपत्ति

काठमाडौं, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर टिप्पणी गरेको भन्दै आपत्ति जनाए ।

यस्तै उनले समानुपातिक सांसद र विदेशीसँग बिहे गरेको भनेर होच्याइने प्रवृत्ति रहेको बताए । नेपालकै इतिहासमा विदेशीसँग विवाह गर्ने नेपाली महिलाहरू सम्मानित रहेको उनले स्मरण गरे । उनले भनेका छन्, ‘कुनै एउटा यस्तो युग थियो जहाँ काठमाडौंकी राजकुमारी तिब्बतका राजासँग बिहे गरिन् । जनकपुरकी राजकुमारी अयोध्याका राजकुमारसँग बिहे गरे र ती दुवै पुज्य भए ।’

तर पछिल्लो समय विदेशमा पढेको, विदेशीसँग विवाह गरेको जस्ता विषयलाई आधार मानेर नेपाली महिलाप्रति अनावश्यक टिप्पणी हुन थालेको सांसद खनालले बताए । उनले भने, ‘आज यस्तो जमाना आयो विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ १० वर्ष अगाडि देश फर्किइन्, भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन्, नाकाबन्दीको बेला ‘कारपुल’ भनेर सडकमा हिँडिरहेका मानिसहरूलाई यात्राको सुविधा प्रवाह गरिन्, उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दा घुम्दै आएर मन्त्री बनेको भनिएको छ । कहिले लुगामा टिप्पणी गरिन्छ, कहिले समानुपातिक सांसद भनेर होच्याउने काम गरिन्छ। कहिले यही सभा हलमा, कहिले बन्द कोठाभित्र!’

नेकपा एमालेका अध्यक्ष ओलीले केही दिनअघि संसदीय दलको बैठकमा शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा सांसद श्रेष्ठलाई लक्षित गरेर पानी पर्दा कहिलेकहिले माछा बर्सिएझैं शिक्षा मन्त्री बनेको भनेर टिप्पणी गरेका थिए। त्यसअघि पनि ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै सुमना लक्षित नै टिप्पणी गरेका थिए।

एमाले अध्यक्ष ओलीको यस्तो अभिव्यक्तिपछि रास्वपाभित्र आन्तरिक छलफलसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस