काठमाडौं, ३० असोज । नेपालीहरूको घरआँगनमा यतिबेला दशैंको उत्सव छाएको छ । दशैं मुख्यतः सांस्कृतिक पर्व भए तापनि यसको आर्थिक पाटो उत्तिकै बलियो छ । यो पर्वसँग अभिन्न रूपमा जोडिने वस्तु नयाँ नोट पनि हो । दशैंमा नयाँ नोटको माग र महत्वलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले दुई वर्षअघिसम्म यसको सहजै सहटी सुविधा दिँदै आएको थियो । तर अत्यधिक माग र प्रयोगले नोट छिट्टै बिग्रिने र व्यवस्थापनमा अतिरिक्त खर्च बढ्ने भएकाले केन्द्रीय बैंकले पछिल्ला वर्षमा सफा नोट वितरणको नीति लिएको छ । साथै यसपटक एटिएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।
नेपाली नोट अन्तरराष्ट्रिय गुणस्तरको हुने भए तापनि रङ लागेर, भिजेर र अन्य असुरक्षित तरीकाले प्रयोग गर्दा छिट्टै मैलिने, थोत्रिने, च्यातिने जस्ता समस्या छ । यद्यपि अहिले नोटको सुरक्षित प्रयोगबारे सर्वसाधारणमा चेतना र जागरुकता पनि बढ्न थालेको पाइएको छ ।
विगतका वर्षमा हेर्दा बजारमा गएकामध्ये ९० प्रतिशत नयाँ नोट दशैंको बेलाका हुन्थे । तर तीमध्ये करिब २५ प्रतिशत छिट्टै फोहोर भएर पुनः छाप्नुपर्ने अवस्था थियो । नोट छपाइमा वार्षिक औसत १ अर्बभन्दा बढी खर्च हुने गरेको छ । तथापि पछिल्लो समय डिजिटल भुक्तानीको बढ्दो प्रयोगले नगदको निर्भरता घटाउँदै परम्परागत भुक्तानी प्रणालीमा उल्लेख्य परिवर्तन ल्याएको छ ।
प्रविधिले ल्याएको यही सहजताका कारण नगदको भौतिक कारोबारको साटो मोबाइल बैंकिङ, क्युआर जस्ता विद्युतीय प्रणालीको प्रयोगमा उपभोक्ता अभ्यस्त हुन थालेका छन् ।
नेपालमा डिजिटल भुक्तानीको पहुँच र दायरा बढ्दै गए तापनि ठूलो परिमाणमा नगद कारोबार नै हुने गरेको छ । अतः यसको सुरक्षित प्रयोग गर्नुपर्नेमा केन्द्रीय बैंकले आम नागरिकलाई आग्रह गर्दै आएको छ ।
गत भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको छ । दसैँका समयमा उक्त रकम करीब ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको उनले बताए । जसअनुसार बजारमा थप करिब ६३ अर्ब ५२ करोडदेखि ७९ अर्ब ४० करोडसम्म मुद्रा चलनचल्तीमा आउन सक्नेछ ।
यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :